काठमाडाैं । नेपालले कार्बन उत्सर्जन घटाए वापत विश्व बैंकबाट करिब एक अर्ब ३२ करोड रूपैयाँ (९४ लाख अमेरिकी डलर) प्राप्त गरेको छ।
कुल ६ अर्ब ३४ करोड रूपैयाँ (चार करोड ५० लाख डलर) को यो आयोजनामध्ये नेपालले करिब १८ लाख ८८ हजार टन कार्बन उत्सर्जन घटाएको भन्दै उत्सर्जन नियन्त्रण सम्बन्धी भुक्तानी सम्झौताअन्तर्गत यस्तो भुक्तानी गरिएको हो।
सन् २०२१ देखि तराई क्षेत्रमा कार्यान्वयन गरिएको नेपाल उत्सर्जन नियन्त्रण कार्यक्रम अन्तर्गत यस्तो भुक्तानी गरिएको हो।
यो भुक्तानीले नेपालले वन विनाश नियन्त्रण, वन शासन सुदृढीकरण, जैविक विविधता संरक्षण र वनमा निर्भर समुदायको जीवनस्तर सुधार गर्ने प्रयास प्रभावकारी भएको देखाएको विश्व बैंकले उल्लेख गरेको छ।
तराई क्षेत्र जैविक विविधता र घनत्वपूर्ण बस्ती दुवैका कारण संवेदनशील मानिन्छ। यस क्षेत्रका स्थानीय समुदाय, आदिवासी जनजाति र विभिन्न नागरिक समाजसँग सहकार्य गर्दै कार्यक्रमले सामुदायिक–आधारित दिगो वन व्यवस्थापनलाई अगाडि बढाउँदै आएको छ।

Comment