बुटबल । बुटवलमा साढे ३ अर्ब रुपैयाँको लगानीमा पाँच तारे होटल हायात प्यालेस सञ्चालन भएको छ ।
व्यावसायिक घरानामा दर्ज भएका पौडेल र मालपानी दुई परिवारको लगानीमा यो होटल सुरु भएको हो । बुटवलमा अब पर्यटक, उद्योगपति र उच्चस्तरीय सम्मेलनका सहभागीहरूका लागि अन्तर्राष्ट्रिय मापदण्डको पाँचतारे होटलको विकल्प तयार भएको छ ।
बुटवल उपमहानगरपालिका वडा नं. ८ सुख्खानगरस्थित बुटवल–नारायणगढ सडकखण्डको छेउमै करिब साढे तीन अर्ब रुपैयाँ लागतमा निर्माण सम्पन्न हायात प्यालेस बुटवल शनिवारदेखि सञ्चालनमा आएको छ ।
होटल सञ्चालक समितिका अध्यक्ष चुन्नप्रसाद पौडेलका अनुसार यसमा ग्लोबल आइएमई बैंकले ६५ प्रतिशत लगानी गरेको छ ।
शनिवार वैदिक परम्पराअनुसार पञ्चकन्याहरू सहित विधिवत् पूजा–अर्चना गरी होटल सञ्चालनको शुभ साइत गरिएको हो । यससँगै होटल सभा–सम्मेलन, बैंक्वेट, र विभिन्न सामाजिक कार्यक्रमका लागि पनि खुला गरिएको छ । सञ्चालकका अनुसार हायात प्यालेस बुटवलको ग्रान्ड ओपनिङ नोभेम्बर २४ मा भव्य रूपमा आयोजना गरिने तयारी छ ।
यो होटल बुटवलकै पहिलो र रुपन्देही जिल्लाको पाँचौँ पाँचतारे होटल हो । यसअघि भैरहवा, तिलोत्तमा र लुम्बिनी क्षेत्रमा पाँचतारे होटल सञ्चालनमा आइसकेका थिए । तर, बुटवलमा पहिलो पटक अन्तर्राष्ट्रिय ब्रान्डको होटल सञ्चालनमा आउनुले यहाँको पर्यटन र व्यावसायिक क्षेत्रका लागि नयाँ युगको सुरुवात भएको सञ्चालकहरूको भनाइ छ ।
सिफ्रोन सिके प्रालिमार्फत निर्माण गरिएको होटलको व्यवस्थापन प्रतिष्ठित अन्तर्राष्ट्रिय होटल चेन हायात समूहले लिएको हो । नेपालमा काठमाडौंपछि राजधानी बाहिर पहिलो पटक हायात प्यालेस ब्रान्डको होटल बुटवलमा सञ्चालनमा आएको हो ।
होटलमा रुपन्देहीका स्थापित उद्योगी–व्यवसायीहरू चुन्नुप्रसाद पौडेल, नरिश्वर पौडेल, भूमिराज पौडेल, कमलकिशोर मालपानी, उमाशंकर मालपानी, र नितेश मालपानीको लगानी छ ।
यही समूहले नेपालकै लोकप्रिय करेन्ट चाउचाउ उत्पादन गर्ने यशोदा फुड्स प्रालि र बुटवल हस्पिटल प्रालि पनि सञ्चालन गर्दै आएको छ ।
सफ्रोन सिके प्रालिका अध्यक्ष चुन्नुप्रसाद पौडेलका अनुसार करिब २५ कट्ठा क्षेत्रफलमा फैलिएको यस होटलमा ३ अर्ब ५० करोड रुपैयाँभन्दा बढी लगानी गरिएको छ ।
होटल जमिनमुनि दुई तला पार्किङ र जमिनमाथि १० तला रहेको आधुनिक संरचना हो । कुल ५ हजार ७४६ वर्गमिटर क्षेत्रफलमा फैलिएको होटलमा ६ श्रेणीका १०९ कोठा छन्, जहाँ एकै पटक २५० जना पाहुनालाई उच्चस्तरीय सेवा उपलब्ध गराउन सकिने अध्यक्ष पौडेलले जनाए ।
होटलमा आधुनिक रेस्टुरेन्ट, स्विमिङ पुल, ब्याङ्क्वेट हल, ४ वटा सेमिनार हल, स्पा, र क्यासिनो जस्ता विश्वस्तरीय सुविधा छन्। करिब ३६ हजार स्क्वायरफुट क्षेत्रमा फैलिएको क्यासिनो निर्माण अन्तिम चरणमा पुगेको छ ।
होटल पूर्ण रूपमा सञ्चालनमा आएपछि करिब ३५० जनालाई प्रत्यक्ष रोजगारी उपलब्ध हुने अध्यक्ष पौडेलले बताए ।
होटलको स्थान बुटवलको केन्द्रीय व्यावसायिक क्षेत्र सुख्खानगरमा रहेको छ । यहाँबाट नेपाल–भारत सीमा बेलहिया २८ किलोमिटर र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल २५ किलोमिटर टाढा मात्र छ । होटलको अगाडि नै बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र र प्रदर्शनी स्थल रहेकोले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मेलनका लागि सहज पहुँच उपलब्ध भएको छ ।
पौडेलका अनुसार यो होटल केवल बसाइको गन्तव्य मात्र होइन, सम्मेलन, सेमिनार र विवाह समारोहदेखि व्यापारिक मेला सञ्चालनसम्मका लागि एउटा पूर्ण गन्तव्य हो ।
कोभिड अघि २०७७ सालमा होटल निर्माण सुरु गरिएको थियो । सुरुवाती योजना अनुसार २०७९ सालभित्रै सञ्चालन गर्ने तयारी थियो तर कोभिड–१९ महामारी र त्यसपछि सुस्त बनेको अर्थतन्त्रका कारण निर्माणमा ढिलाइ भयो र लगानी पनि त्यसै गरी थपियो ।
उद्योगीहरूले बुटवल–लुम्बिनी–तानसेन–पोखरा मार्गलाई दक्षिण एसियाको ‘गोल्डेन ट्रायाङ्गल टुरिज्म सर्किट’ बनाउन सकिने सम्भावना देखेका छन् ।
बुटवलबाट लुम्बिनी, रामग्राम, तिलौराकोट र पोखराजस्ता विश्वस्तरीय धार्मिक तथा प्राकृतिक गन्तव्य नजिकै छन् । यसले बुटवललाई ट्रान्जिट होइन, ‘स्टे डेस्टिनेशन’ बनाउन ठूलो भूमिका खेल्ने विश्वास पर्यटन व्यवसायीहरूको छ ।
बुटवल भारतको उत्तर प्रदेशसँग नजिक रहेकोले यहाँ भारतीय पर्यटकहरूको आकर्षण बढ्दो छ ।
अध्यक्ष पौडेलले भने, ‘भारतको उत्तर प्रदेशमा करिब २४ करोड जनसंख्या छ। त्यसको केही प्रतिशत मात्र पर्यटकका रूपमा ल्याउन सकियो भने पनि नेपालको पर्यटन क्षेत्र धानिन्छ ।’
उनका अनुसार, धार्मिक, स्वास्थ्य तथा व्यावसायिक पर्यटनका लागि भारतबाट आउने पर्यटकलाई लक्षित गर्दै होटलले विशेष प्याकेज र सेवा योजना तयार गरेको छ ।
सञ्चालकका अनुसार राजधानी काठमाडौं बाहिर हायात प्यालेस बुटवललाई उत्कृष्ट होटलका रूपमा हेरिएको छ । लुम्बिनीको पवित्र भूमिबाट करिब ३० किलोमिटर दूरीमा रहेको यो होटलले अन्तर्राष्ट्रिय पर्यटकलाई आकर्षित गर्न सक्ने विश्वास राखिएको छ ।
होटलका अध्यक्ष पौडेलले बजारमा यो होटलमा केही नेताको लगानी भएको हल्ला चलाउन थालिएको भन्दै यसमा दुई परिवार र बैंकबाहेक कसैको लगानी नभएको प्रष्ट पारेका छन् ।

Comment