ललितपुर। गोदावरी नगरपालिका वडा नं. ३ को आयोजनामा उपत्यकाभित्रका विभिन्न पालिका, संघ–संस्था र जनप्रतिनिधिहरूसँग समन्वय गरी एक दिने बृहत गोदावरी पदयात्रा सम्पन्न गरिएको छ।
पदयात्रा कार्यक्रमको मुख्य उद्देश्य गोदावरी क्षेत्रको पर्यटन प्रवर्द्धन गर्ने र देश–विदेशमा वडा नं. ३ का विविध प्राकृतिक, धार्मिक तथा सांस्कृतिक सम्पदाहरूको प्रचार–प्रसार गर्ने रहेको आयोजकले जनाएको छ।
कार्यक्रम गोदावरी वडा नं. ३ का वडा अध्यक्ष सानुराजा घिमिरेको प्रमुख नेतृत्वमा सम्पन्न भएको हो। उक्त पदयात्रामा तारकेश्वर नगरपालिका भित्रको अभिन्न अंग तारकेश्वर योग साधना केन्द्र, तारकेश्वरका जनप्रतिनिधिहरू, ललितपुर महानगरपालिका र कीर्तिपुर नगरपालिकाका विभिन्न वडाका प्रतिनिधि तथा गोदावरी नगरपालिकाका कार्यपालिका सदस्यहरू लगायत करिब २०० जनाको सहभागिता रहेको थियो।
यससँगै वडा कार्यालयले पर्यटन प्रवर्द्धनलाई दीर्घकालीन अभियानको रूपमा अघि बढाउँदै स्थानीय ३५ जना युवाहरूका लागि ४ दिने ‘पर्यटन प्रवर्द्धन साथी शिक्षा कार्यक्रम’ सञ्चालन गरेको छ। उक्त तालिमले युवालाई पर्यटन विकासका क्षेत्रमा सक्रिय सहभागी बन्न प्रोत्साहित गर्ने उद्देश्य राखिएको छ।

गोदावरी पर्यटन प्रवर्द्धनकै अभियानलाई निरन्तरता दिँदै वडा कार्यालयले हालै उपत्यका व्यापी ‘गोदावरी पर्यटन प्रवर्द्धन अनलाइन भिडियो प्रतियोगिता’ समेत सञ्चालन गरेको जनाएको छ।
वडा अध्यक्ष घिमिरेले गोदावरीको प्राकृतिक सौन्दर्य, धार्मिक स्थल र सांस्कृतिक विविधतालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने अभियानलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरे।

Comment