रिलायन्स स्पिनिङ मिल्सको व्यापार एक वर्षमै १० अर्ब २३ करोड, ३५ हजार मेट्रिक टन धागो बिक्री

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । देशकै सबैभन्दा ठूलो स्पिनिङ उद्योग रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको व्यापारमा नयाँ रेकर्ड कायम गरेको छ ।

कम्पनीको व्यापार दोहोरो अंकमा वृद्धि भएको छ । कम्पनीले एकै वर्ष १० अर्ब बढीको व्यापार गर्न सफल भएको छ ।

कम्पनीबाट प्राप्त एक विवरण अनुसार सन् २०२५ मा कम्पनीले १० अर्ब २३ करोड ९० लाख रुपैयाँ बराबरको कारोबार गरेको छ । यो गत वर्ष सन् २०२४ को तुलनामा ११.२० प्रतिशत बढी हो । गत वर्ष कम्पनीले ९ अर्ब २० करोड ७० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो । कम्पनीले सन् २०२३ मा १० अर्ब ६० लाख रुपैयाँ र सन् २०२२ मा १० अर्ब १० करोड ५० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो ।

सन् १९९४ मा स्थापना भएको उद्योगले हाल कटन, पोलिस्टर भिस्कोस, एक्रिलिक/ब्लेन्डेड तथा पोलिस्टर टेक्चर्ड यार्न उत्पादन गर्दै आएको छ । कम्पनीको वार्षिक उत्पादन क्षमता ५० हजार मेट्रिक टनभन्दा बढी रहेको छ ।

सुनसरीको खनार र दुहबीमा रहेका दुई ठूला उत्पादन इकाइमा हाल करिब ४ हजार श्रमिक छन् । जसमा १ हजार ३ सयभन्दा बढी महिला कार्यरत छन् । सुरुवातमा ९ हजार स्पिन्डलबाट सञ्चालनमा आएको उद्योग अहिले १ लाख २ हजार ८ सय २४ स्पिन्डल क्षमतासहित सञ्चालनमा छ । रिलायन्सका उत्पादनहरू नेपालभित्र मात्र होइन, भारत, टर्की लगायतका मुलुकहरूमा पनि निर्यात हुने गर्छन् । कम्पनीले वार्षिक करिब ५ करोड अमेरिकी डलर बराबरको धागो निर्यात गर्छ ।

गत आर्थिक वर्षमा कम्पनीले ३५ हजार ३६९ मेट्रिक टन धागो बिक्री गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा उल्लेखनीय वृद्धि हो । सन् २०२४ मा कम्पनीले ३२ हजार ६६७ मेट्रिक टन धागो बिक्री गरेको थियो । यो वर्ष धागोको औसत बिक्री मूल्य पनि बढेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यो वर्ष प्रतिकेजी २७२ रुपैयाँ छ । गत वर्ष २६५ रुपैयाँ थियो । कम्पनीले ४.६६ प्रतिशत खुद नाफा कमाएको छ ।

उत्पादनका लागि आवश्यक कच्चा पदार्थ कम्पनीले चीन, भारत, हङकङ, इन्डोनेसिया, मलेसिया र थाइल्यान्डबाट आयात गर्दै आएको छ । कम्पनीले ९ अर्ब ४५ करोड ३७ लाख रुपैयाँ बराबरको कर्जा रेटिङ गराएको छ । यसमा दीर्घकालीन कर्जा तर्फ ३ अर्ब ४५ करोड ७ लाख र अल्पकालीन तर्फ ५ अर्ब ५८ करोड रुपैयाँ रहेको छ ।

यो उद्योगको गोल्यान ग्रुप र एमएस ग्रुपको संयुक्त लगानीमा सञ्चालित छ । कम्पनीको अध्यक्ष पवन गोल्यान, प्रबन्ध निर्देशक शशीकान्त अग्रवाल र सह–प्रबन्ध निर्देशक अक्षय गोल्यान रहेका छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।