काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) फ्रेन्चाइज टिम पोखरा एभेन्जर्सको आयोजनामा शुक्रबार पोखरामा भएको ‘क्रिकेटका लागि नेपथ्य’ कन्सर्ट भव्य रूपमा सम्पन्न भएको छ।
पोखरा रंगशालाको फुटबल मैदानमा आयोजित उक्त कन्सर्टमा १० हजारभन्दा बढी दर्शकले उत्साहपूर्वक सहभागिता जनाएका थिए। संगीत र खेलकुदबीचको सम्बन्ध सुदृढ गर्न उद्देश्यसहित आयोजना गरिएको यस कार्यक्रमले पोखराको सांस्कृतिक र खेलकुद वातावरणलाई एकैसाथ उत्सवमय बनाएको थियो।
लोकप्रिय ब्यान्ड नेपथ्यले ‘ओ राम राम’ बाट कार्यक्रमको सुरुवात गर्दै ‘रेसम’, ‘भेडाको उनजस्तो’, ‘जोगले हुन्छ भेट’, ‘तालको पानी’, ‘यो जिन्दगीमा’, ‘सिरानमा फोटो छ’ र ‘मै नाचे छमछमती’ लगायत दर्जनौँ गीतहरू प्रस्तुत गरी दर्शकलाई मन्त्रमुग्ध बनायो। साँझ ६ बजे सुरु भएको कन्सर्ट करिब ढाई घण्टासम्म निरन्तर चलेको थियो।
नेपथ्यका मुख्य गायक अमृत गुरुङले पोखरासँगको आफ्नो गहिरो सम्बन्ध स्मरण गर्दै भने, “२०४० सालमा दोस्रो राष्ट्रिय खेलकुद हेरेको सम्झना अझै ताजा छ। पोखराको माटोसँग मेरो आत्मीय नाता छ।” उनले पोखरा एभेन्जर्सलाई धन्यवाद दिँदै एनपीएलको दोस्रो संस्करणमा उत्कृष्ट प्रदर्शनका लागि शुभकामना व्यक्त गरे।
पोखरा एभेन्जर्सका अध्यक्ष सुबोध त्रिपाठीले कन्सर्टको सफलताप्रति सन्तोष व्यक्त गर्दै भने, “सुरुमा चुनौतीहरू थिए, तर सबैको साथ र सहयोगले यो कार्यक्रम ऐतिहासिक रूपमा सम्पन्न गर्न सक्यौं। यसले संगीत र खेलकुदबीचको सम्बन्ध अझ मजबुत बनाएको छ।”
कन्सर्टमा सहभागी हुन दर्शकका लागि जर्सीमार्फत प्रवेशको विशेष व्यवस्था गरिएको थियो। आयोजकका अनुसार, पोखरा एभेन्जर्सले ७ हजार जर्सी बिक्री गरेको थियो, जसबाट उठेको रकम गण्डकी प्रदेशका सामुदायिक विद्यालयहरूमा क्रिकेट किट वितरण गर्न प्रयोग गरिनेछ।
संगीत, खेल र सामाजिक योगदानको संगम बनेको ‘क्रिकेटका लागि नेपथ्य’ कन्सर्टले पोखरालाई एक सांगीतिक उत्सवमा रूपान्तरण गरेको सहभागीहरूले बताएका छन्।

Comment