काठमाडौँ । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसांसद् मोहम्मद अफताब आलमको निधन भएको छ ।
काठमाडौँ मेडिकल कलेजमा उपचारको क्रममा गएराति साढे २ बजे उनको निधन भएको पारिवारिक स्रोतले जानकारी दियो ।
स्वास्थ्य अवस्थामा गम्भीर समस्या देखिएपछि केही दिनयता उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । मिर्गौला फेल भएकोले उनको निरन्तर डायलाइसिस भइरहेको थियो ।
विगतमा रौटहतबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने उनले केही समय वन तथा वातावरण र श्रम तथा रोजगार मन्त्रीको जिम्मेवारी सम्हालेका थिए ।
आलमलाई रौतहटको राजापुरमा २०६४ चैत २७ गते भएको बम विस्फोटका घाइते पिन्टु भनिने त्रिलोकप्रताप सिंह राजपुत र ओसी अख्तरलाई इँटा भट्टामा जलाएर हत्या गरेको कसुरमा जिल्ला अदालतले २०८१ वैशाख १३ गते जन्मकैदको सजाय सुनाएको थियो ।
त्यसविरुद्ध आलमले गरेको पुनरावेदनमा गत १४ जेठमा सुनुवाइ गर्दै वीरगन्ज उच्च अदालतका न्यायाधीशद्वय खुशीप्रसाद थारु र अर्जुन महर्जनको इजलासले जिल्ला अदालतको फैसला उल्ट्याएपछि त्यसैदिन नख्खु कारागारबाट छुटेका थिए ।
कारागारबाट छुटेलगत्तै उनको स्वास्थ्यमा निरन्तर समस्या देखिन थालेको थियो ।

Comment