कांग्रेस केन्द्रीय समिति बैठकमा राजीव ढुङ्गानाको प्रस्ताव: युवाको प्रतिनिधित्व, भ्रष्टाचारमा शून्य सहनशीलता, रूपान्तरित र पुनर्गठित पार्टी सहित निर्वाचन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजीव ढुङ्गानाले पार्टीले ‘जेन-जी’ आन्दोलनको भावनालाई सम्मान गर्दै युवाको प्रतिनिधित्व सुनिश्चित गर्न विधान नै संशोधन गर्नुपर्ने सुझाव दिएका छन्। उनले भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउँदै निर्वाचन अघि नै पार्टीलाई रूपान्तरण गरेर लैजानुपर्नेमा जोड दिए।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकमा ढुङ्गानाले उक्त धारणा प्रस्तुत गरे।

‘जेन-जी’ आन्दोलनलाई सम्मान, २५% कोटा प्रस्ताव

केन्द्रीय सदस्य ढुङ्गानाले ‘जेन-जी’ आन्दोलनले मुलुक बनाउन चाहने युवाहरूको जोश देखाएको भन्दै कांग्रेसले त्यसलाई उच्च सम्मान गर्नुपर्ने बताए।
उनका अनुसार, “हिजो ‘पोलिटिक्स इज अ डर्टी गेम’ (राजनीति फोहोरी खेल हो) भन्नेहरू पनि राजनीति मार्फत नै मुलुकको विकास गर्नुपर्छ भनेर आउनु लोकतन्त्रका लागि सकारात्मक विषय हो।”

ढुङ्गानाले पार्टीको विधान संशोधन गरेरै भएपनि पार्टीका सबै समिति र आधिकारिक उम्मेदवारको रूपमा कम्तीमा २५ प्रतिशत युवा कोटा सुनिश्चित गर्नुपर्ने माग गरे। साथै, पार्टीको क्रियाशील सदस्यताको २० प्रतिशत ३० वर्षमुनिका युवालाई वितरण गर्नुपर्ने र रूपान्तरणका लागि ‘रिटायरमेन्ट’ तथा ‘कुलिङ पिरियड’को व्यवस्था गर्नुपर्ने प्रस्ताव पनि गरे।

भ्रष्टाचारमा शून्य सहनशीलता र तीन गुना बिगो

भाद्र २३ गतेको ‘जेन-जी’ आन्दोलनलाई भ्रष्टाचारविरुद्धको युवा चाहनाको रूपमा व्याख्या गर्दै ढुङ्गानाले २४ गतेको घटनामा भने बाह्य घुसपैठका कारण क्षति भएको टिप्पणी गरे।

उनले भने, “भ्रष्टाचारमा पार्टीले शून्य सहनशीलताको नीति लिनुपर्छ। भ्रष्टाचारको मुद्दा पर्दा पार्टीबाट निलम्बन गर्ने र ठहरिएमा तीन गुना बढी बिगो रकम बुझाउने गरी कानुनमै उल्लेख गर्न पार्टीले संकल्प प्रस्ताव तयार गर्नुपर्छ।”

निर्वाचन र अदालतको फैसला

ढुङ्गानाले प्रतिनिधि सभा विघटनपछि नयाँ सरकार गठन र त्यसपछि निर्वाचनमा जानु समय सान्दर्भिक माग भएको बताए। उनका शब्दमा, “कांग्रेस निर्वाचनका लागि तयार हुनुपर्छ। तर विधिको शासन र संवैधानिक कानुन मान्ने देशमा विचाराधीन विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतको फैसला जे–जस्तो आए पनि त्यसलाई आत्मसात गरेर पार्टी अघि बढ्नुपर्छ।”

महाधिवेशनबारे स्पष्ट धारणा

पार्टीको पन्ध्रौं महाधिवेशनका सन्दर्भमा ढुङ्गानाले निर्वाचन अघि कि पछि भन्ने विवादमा पार्टीलाई बाँधिन नहुने टिप्पणी गरे। उनका अनुसार, ‘जेन-जी’ आन्दोलनपछिको भावनाअनुसार कार्यकर्ताहरू पुनर्गठित र रूपान्तरित कांग्रेससहित मात्र निर्वाचनमा जान चाहन्छन्।

“विगतमा निर्वाचनअघिका महाधिवेशनले पारेका असरहरूको सूक्ष्म अनुसन्धान हुनुपर्छ,” उनले भने, “आम कार्यकर्ताको भावना समेटिने गरी पुनर्गठित र रूपान्तरित कांग्रेसका साथ निर्वाचनमा जानुपर्छ।”

ढुङ्गानाले महाधिवेशनका लागि पार्टीभित्र एकताको सन्देश दिने गरी स्पष्ट कार्यतालिका आधिकारिक रूपमा तयार गरी केन्द्रीय समितिले निर्णय गर्नुपर्ने सुझाव पनि दिए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।