काठमाडौं । एभरेष्ट बैंकको खुद ब्याज आम्दानीसँगै अन्य आम्दानीमा वृद्धि भए पनि कर्जा नोक्सानी व्यवस्था बढेसँगै खुद नाफा भने सामान्य मात्रै बढेको छ ।
चालु आर्थिक वर्ष २०८२/८३ को प्रथम त्रैमासमा बैंकको १ अर्ब १७ करोड ९३ लाख रुपैयाँ नाफा कमाएको छ । गत आर्थिक वर्ष २०८१/८२ को प्रथम त्रैमासमा बैंकले १ अर्ब १२ करोड ७७ लाख रुपैयाँ नाफा कमाएकामा चालु आर्थिक वर्षको सोही अवधिमा नाफा ५ करोडले बढेको हो ।
बैंकको खुद ब्याज आम्दानी २ अर्ब १३ करोड ९१ लाख रुपैयाँबाट बढेर २ अर्ब ४० करोड ३९ लाख रुपैयाा पुग्दा कुल सञ्चालन आम्दानी २ अर्ब ६७ करोड ४१ लाख रुपैयाँबाट बढेर ३ अर्ब ११ करोड ३७ लाख रुपैयाँ पुगेको छ ।
तर, सञ्चालन खर्च तुलनात्मक रुपमा नबढे पनि सम्भावित कर्जा नोक्सानीको व्यवस्थाको प्रोभिजन बढ्दा बैंकको आम्दानीको तुलनामा नाफा बढ्न सकेन । बैंकले गत आर्थिक वर्षको प्रथम त्रैमासमा सम्भावित कर्जा नोक्सानी व्यवस्थाको लागि १० करोड ६७ लाख छुट्याएकामा चालु आर्थिक वर्षको सोही अवधिमा ४२ करोड ३१ लाख रुपयाँ छुट्याएको छ ।
आर्थिक वर्षको पहिलो ३ महिनामा बैंकहले ग्राहकको कर्जा करिब १४ अर्बले बढाएर २ खर्ब १३ अर्ब ४४ करोडबाट बढाएर २ खर्ब २७ अर्ब ३५ करोड रुपैयाँ पुर्याएको छ । त्यस्तै निक्षेप करिब १५ अर्बले बढेर २ खर्ब ९८ अर्ब ८१ करोड रुपैयाँबाट ३ खर्ब १३ अर्ब ८९ करोड रुपैयाँ पुगेको छ ।
गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण गरेपनि त्यसको समायोज हुन बाँकी रहेकोले बैंकको चुक्ता पुँजी १२ अर्ब ९४ करोड ४७ लाख रुपैयाँ र सञ्चित नाफा ५ अर्ब ४९ करोड ६० लाख रुपैयाँ पुगेको छ ।
जसबाट २० प्रतिशत लाभांश वितररण गर्ने प्रस्ताव पारित गरिसकेको छ । बैंकको प्रतिसेयर आम्दानी लाभांश समायोजन नहुँदा ३४ रुपैयाँ ८५ पैसाबाट बढेर ३६ रुपैयाँ ४४ पैसा पुगेको हो ।
प्रतिसेयर नेटवर्थ २५५ रुपैयाँ ६९ पैसा र मूल्य आम्दानी अनुपात १७.५७ गुणा गुणा छ । बैंकले प्रथम त्रैमासमा मात्रै ६० करोड २९ लाख रुपैयाँ वितरणयोग्य नाफा कमाएको छ ।
बैंकको पुँजीकोष अनुपात १२.७७ प्रतिशत र प्राथमिक पुँजीकोष अनुपात १०.०७ प्रतिशत पुगेको छ । निष्क्रिय कर्जा ०.७४ प्रतिशत र आधार दर त्रैमासको औसत ४.८६ प्रतिशतमा झरेको छ ।

Comment