काठमाडौं । ग्लोबल आईएमई बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब ८५ करोड ८६ लाख रुपैयाँ खुद नाफा गरेको छ । बैंकले गत आवको सोही अवधिको तुलनामा २२.९२ प्रतिशत बढी नाफा गरेको हो । बैंकले आव २०८१/८२ को पहिलो ३ महिनामा १ अर्ब ५१ करोड रुपैयाँ नाफा गरेको थियो ।
खुद ब्याज आम्दानी र खुद फि एन्ड कमिसन आम्दानी सामान्य बढ्दा तथा नोक्सानी व्यवस्थाका लागि छुट्याउनुपर्ने रकम थोरै घट्दा बैंकको नाफा बढेको हो । ३ महिनाको अपरिस्कृत वित्तीय विवरणअनुसार ग्लोबल आईएमई सबैभन्दा बढी नाफा गर्ने बैंक बनेको छ ।
बैंकले ३ महिनामा ४ अर्ब १३ करोड ३१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गर्दा र ९० करोड ७६ लाख खुद फि एन्ड कमिसन आम्दानी गरेको छ । यसैगरी १ अर्ब १ करोड प्रोभिजन गरेको छ ।
नाफा बढ्दा बैंकको ईपीएस पनि १६ रुपैयाँ ७४ पैसाबाट बढेर १९ रुपैयाँ ७४ पैसा पुगेको छ ।
असोज मसान्तसम्म बैंकको निष्क्रिय कर्जा ४.९८ प्रतिशत छ जुन गत आवको असोज मसान्तको तुलनामा थोरै बढेको हो । निष्क्रिय कर्जा बढे तापनि बैंकको प्रोभिजन रकम गत आवको सोही अवको तुलनामा कम छ । यता खुद निष्क्रिय कर्जा भने ०.९५ प्रतिशत मात्र छ ।
बैंकले हालसम्म ५ खर्ब ८२ अर्ब २५ करोड रुपैयाँ निक्षेप परिचालन गरी ४ खर्ब २१ अर्ब २५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । ३ महिनामा बैंकको निक्षेप ३२ अर्बले बढ्दा कर्जा ११ अर्बले विस्तार भएको छ । बैंकको निक्षेप कर्जा अनुपात ७३.३४ प्रतिशत छ ।
असोज मसान्तको तथ्यअनुसार बैंकको प्रतिसेयर नेटवर्थ १७९.५० रुपैयाँ, आरओई ११.०१ प्रतिशत, स्प्रेड दर ३.४८ प्रतिशत र पीई रेसियो १२.१० छ ।
यस अवधिमा बैंकको बक्यौता ब्याज र गैरबैंकिङ सम्पत्ति दुबै बढ्दा ३ महिनाको नाफा १ अर्ब ८५ करोड रुपैयाँमध्ये ७९ करोड ४६ लाख रुपैयाँमात्र सेयरधनीलाई बाँड्न मिल्ने देखिन्छ ।

Comment