काठमाडौं । आइसीसी पुरुष विश्वकप क्रिकेट लिग २ को आफ्नो पाँचौ शृंखलामा नेपाल जितविहीन भएको छ। दुबईमा बुधबार सकिएको शृंखलामा नेपाल अमेरिका र युएईसँग समान दुई खेलमा पराजित भएको हो।
शृंखलामा नेपाल अमेरिकासँग पहिलो खेलमा १०६ रन र दोस्रोमा ४ विकेटले तथा युएईसँग पहिलो खेलमा ५ विकेट र दोस्रोमा ४ विकेटले पराजित भएको हो । २० खेलको समाप्तिमा नेपाल १२ अंकमा सातौं र समान खेलबाट १० अंकमा युएई पुछारमा छ । आफ्नो छैठौं शृंखलामा नेपाल र युएईसँगको चारै खेलमा जित निकालेको अमेरिका भने ३६ अंकमा शीर्ष स्थानमा उक्लिएको छ।
दुबईमा बुधबार नेपालले दिएको २४० रनको लक्ष्य युएईले ४९.१ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो । उसको जितमा मोहमद सहजाद र मोहमद वासिमले उल्लेख्य पारी खेले । ६८ रन जोड्दा तीन विकेट गुमाएको स्थिति सम्हाल्दै उनीहरुले चौथो विकेटका लागि १४७ रनको साझेदारी गरे । वासिम ७६ रनमा आउट हुँदा सहजाद ९६ रनमा आउट भए ।
२५ ओभरको खेल सकिँदासम्म नेपालले युएईलाई दबाबमा राखेको थियो । २५ ओभरको समाप्तिमा मात्र ८४ रन दिएका नेपाली बलरले सोपछि भने लय गुमाएका थिए । करण केसीले २ तथा सन्दीप लामिछाने, नन्दन यादव, ललित राजवंशी र कुशल मल्लले समान एक विकेट लिए ।
यसअघि दुबईमा पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ९ विकेट गुमाएर २३९ रनको योगफल तयार पारेको थियो । नेपालका लागि भीम सार्कीले ४८, कुशल मल्लले ४५, दीपेन्द्र सिंह ऐरीले ३७, आसिफ शेखले ३४ र आरिफ शेखले ३० रन बनाए । रोहित पौडेल, कुशल भुर्तेल, नन्दन यादव र करण केसी दोहोरो अंकको स्कोर नगर्दै बाहिरिएको नेपालको इनिङ्समा सन्दीप लामिछाने १५ रनमा नटआउट रहे ।
युएईका लागि ध्रुब परासर, महमुदुल्लाहा जवादुल्लाहा र जुनैद सिद्धिकीले समान २ विकेट लिए । जाहिद अलीको नाममा एक विकेट रह्यो ।

Comment