प्रकृतिसँग निकट जाडिएको मुलुकको सूचीमा नेपाल पहिलो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी । बेलायत संसारका सबैभन्दा प्रकृतिसँग कम जोडिएको देशहरूमा पर्ने खुलासा भएको गार्डियन पत्रिकाले लेखेको छ ।

यो निष्कर्ष संसारभरिका मानिसले प्रकृतिसँग कस्तो सम्बन्ध राख्छन् भन्नेबारे गरिएको पहिलो विश्वव्यापी अध्ययनबाट निकालिएको हो ।

अध्ययनले ६१ देशका ५७ हजार मानिसहरूको विचार संकलन गरेको थियो । सामाजिक, आर्थिक, भौगोलिक र सांस्कृतिक कारणहरूले प्रकृतिप्रति मानिसको दृष्टिकोण कसरी निर्धारण गर्छ भन्ने विषयमा गरिएको अध्ययनमा बेलायत ५५औं स्थानमा परेको छ ।

प्रकृतिसँग सबैभन्दा नजिक रहेको देशका रूपमा नेपालको पहिचान गरिएको छ । त्यसपछि इरान, दक्षिण अफ्रिका, बंगलादेश र नाइजेरिया क्रमशः शीर्ष पाँच स्थानमा परेका छन् ।

एम्बियो नामक पत्रिकामा प्रकाशित अध्ययनअनुसार, युरोपका क्रोएसिया र बुल्गेरिया मात्र शीर्ष १० स्थानमा छन् भने फ्रान्स १०औं स्थानमा छ ।

बेलायतभन्दा तल नेदरल्यान्ड्स, क्यानडा, जर्मनी, इजरायल, जापान र स्पेन छन् । स्पेन सबैभन्दा कम प्रकृतिसँग जोडिएको देशको रूपमा अन्तिम (६१औं) स्थानमा परेको छ ।

‘नेचर कनक्टेडनेस’ मनोवैज्ञानिक अवधारणा हो । यसले अन्य जीव–प्रजातिहरूसँग व्यक्तिको आत्मिक र भावनात्मक नाताको मापन गर्छ । प्रकृतिसँग गहिरो सम्बन्ध भएका मानिसहरूमा मानसिक स्वास्थ्य राम्रो हुने र उनीहरू वातावरणमैत्री व्यवहार गर्न बढी प्रेरित हुने अध्ययनहरूले देखाएका छन् ।

तर, नेचर कनक्टेडनेसको कमीलाई जैविक विविधताको ह्रासका तीन मुख्य कारणहरूमध्ये एक मानिएको छ । असमानता र भौतिक लाभप्रतिको अत्यधिक प्राथमिकता बाँकी दुई कारण हुन् ।

सन् २०२४ मा जर्नल अफ इन्भाइरनमेन्टल साइकोलोजीमा प्रकाशित तथ्यांकमा आधारित यो नयाँ अध्ययन बेलायत र अस्ट्रियाका अनुसन्धानताहरूले गरेका हुन् । कुनै समाजमा आध्यात्मिकता को उच्च स्तर नै प्रकृतिसँगको निकट सम्बन्धको सबैभन्दा ठोस संकेत भएको डर्बी विश्वविद्यालयका प्राध्यापक माइल्स रिचर्डसनको नेतृत्वमा गरिएको अध्ययनले देखायो ।

अर्थात्, धार्मिक झुकाव भएका, आस्थालाई विज्ञानभन्दा माथि राख्ने संस्कृतिमा मानिसहरू प्रकृतिसँग बढी नजिक हुने सम्भावना हुन्छ ।

यसको विपरीत, विश्व बैंकले तयार गर्ने ईज अफ डुइङ बिजनेस (व्यवसाय गर्न सजिलोपन) सूचकांकमा अगाडि रहेका देशहरूमा प्रकृतिसँगको सम्बन्ध कमजोर पाइयो ।

बेलायतमा वातावरणीय संस्थाहरूमा सदस्यता अत्यधिक भए पनि यसले प्रकृतिसँगको आत्मीयता बढाउने कुनै खास प्रभाव देखाएन । अध्ययनका अनुसार, शहरीकरण, औसत आयस्तर र इन्टरनेट प्रयोगको मात्रा पनि प्रकृतिसँगको टाढा हुने कारणसँग सम्बन्धित छन् ।

‘प्रकृतिसँगको सम्बन्ध हामी के गर्छौं भन्नेमा मात्र नभई हामी कसरी महसुस गर्छौं, सोच्दछौं र जीवित संसारमा आफ्नो स्थानलाई कसरी मूल्य दिन्छौं भन्ने कुरामा निर्भर रहन्छ,’ रिचर्डसन भन्छन् ।

उनका अनुसार, बेलायतको यस्तो कमजोर स्थिति आश्चर्यको विषय होइन किनकि त्यो बढी तर्कवादी, आर्थिक र वैज्ञानिक समाज हो । यसले धेरै फाइदा ल्यायो, तर अब सन्तुलन कसरी कायम गर्ने भन्ने चुनौती छ ।

‘संस्कृति परिवर्तन गर्न कठिन छ तर प्रकृतिलाई हाम्रो सुख–समृद्धिको हिस्सा बनाउँदै यसको मूल्यलाई मूलधारमा ल्याउनुपर्छ । यसलाई आदर र पवित्रताको भावनासँग हेर्नुपर्छ,’ उनी थप्छन् ।

रिचर्डसनले सुझाएका उपायहरूमा निम्न समावेश छन् :

राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) ले गर्ने मानसिक स्वास्थ्य उपचारमा प्राकृतिक वातावरणको उपयोग बढाउने,

कानूनमा प्रकृतिको अधिकारलाई स्थान दिने,

व्यावसायिक निर्णयहरूमा जैविक विविधता र प्रकृतिलाई समावेश गर्ने ।

‘हामीलाई अझै पनि क्रियाशील अर्थतन्त्र चाहिन्छ । तर व्यवसाय गर्ने तरिका पुनर्विचार गर्नुपर्छ । प्रकृतिलाई स्रोतको रूपमा नभई सरोकारवालाको रूपमा व्यवहार गर्नुपर्छ ।’

रिचर्डसनका अनुसार, शहरी क्षेत्रमा पार्कहरू निर्माण गर्नु मात्र पर्याप्त हुँदैन । शहरमा ‘पवित्र प्राकृतिकता’ सिर्जना गर्नुपर्छ । पार्क बनाउन सजिलो छ, तर आत्मीय सम्बन्ध सिर्जना गर्न गहिरो प्रयास चाहिन्छ ।

अध्ययनमा विश्व मूल्य सर्वेक्षणका तथ्यांक प्रयोग गरेर प्रत्येक देशको आध्यात्मिकताको मापन गरिएको थियो । त्यसले धर्मको महत्त्व, भगवानप्रतिको विश्वास र आस्थाको स्तर मापन गर्छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।