काठमाडौं । नेकपा (एकीकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र) बीचको एकता प्रक्रियालाई लिएर एकीकृत समाजवादीकी नेता रामकुमारी झाँक्रीले हतारमा निर्णय नलिन आग्रह गरेकी छन्।
एकता प्रक्रियामा असहमति जनाउँदै आएकी नेतृ झाँक्रीले मंगलबार सामाजिक सञ्जालमार्फत पार्टीका नेताहरूलाई धैर्यताका साथ संवाद जारी राख्न आह्वान गरेकी हुन्।
उनले राजनीतिक जीवनमा वैचारिक भिन्नता र मतभेदहरू स्वाभाविक भएको उल्लेख गर्दै तिनलाई व्यवस्थापन गरेर सही निर्णय लिनु नै नेतृत्वको कुशलता हुनेमा जोड दिइन्।
उनले लेखेकी छन्, ‘कमरेडहरू, राजनीतिक जीवनमा उतारचढाव त आउँछ नै। हरेक मान्छेमा वैचारिक भिन्नता हुन्छ। विचारमा मतभेद हुन्छ। कार्यशैली फरक हुनसक्छ। हरेक अवस्थालाई व्यवस्थापन गरेर अगाडि बढ्नसक्ने र देशको तत्कालीन अवस्थालाई बुझेर सही निर्णय लिनु नै नेतृत्वको मापन हो।’
नेतृ झाँक्रीले आग्रह र पूर्वाग्रह त्यागेर आन्दोलनलाई सही दिशा दिन सबै छलफलमा बस्नुपर्नेमा जोड दिएकी छन्। ‘हतार गर्नुपर्ने कुनै कारण छैन। धैर्यताका साथ संवाद जारी राखौं,’ उनले लेखेकी छन्, ‘हामीले लिन खोजेका निर्णयहरू नै सही निर्णय हुन्। आजको आवश्यकता पनि यही हो। तर निर्णयमा पुग्न केही समय लाग्न सक्छ नि !’

Comment