‘रोल नं. १’ को लागि बाल कलाकारको खोजी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । बालमनोविज्ञानमा आधारित नेपाली कथानक चलचित्र ‘रोल नं. १’ को लागि बाल कलाकारको अडिसन आह्वान गरेको छ। सेभेन सिज सिनेमाको प्रस्तुति रहने यो चलचित्रका लागि निर्माण समूहले सामाजिक सञ्जालमार्फत अडिसन खोल्दै ७ देखि १२ वर्ष उमेर समूहका बालबालिकाहरूको खोजी गरिरहेको जनाएको छ ।

गत वर्ष नै यो चलचित्रको फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै निर्माण घोषणा गरिएको थियो। पोस्टरले नै चलचित्र बालमनोविज्ञानसँग सम्बन्धित रहेको स्पष्ट संकेत गरेको थियो ।

निर्माणपक्षका अनुसार ७ देखि ८ वर्षका ३ जना केटा बाल कलाकार, ६ देखि ७ वर्षकी १ जना केटी बाल कलाकार र ११ देखि १२ वर्षका २ जना केटा बाल कलाकार आवश्यक छन् ।

बाल कलाकारहरूको रङ गहुगोरो र उचाइ २.५ देखि ३ फिटसम्म हुनुपर्ने जनाइएको छ। इच्छुक बालबालिकाले सानो भिडियो क्लिप तयार गरी [email protected] इमेल वा WhatsApp नम्बर ९८६५११९३११ मा पठाउन सक्नेछन् ।

निर्माणपक्षले प्राप्त भिडिओहरूबाट सर्टलिस्ट भएका व्यक्तिहरूलाई फाइनल अडिसनका लागि सम्पर्क गर्ने बताएको छ ।

चलचित्रको कथा विद्यार्थीहरूमा देखिने सामाजिक दबाब, झूटो प्रतिष्ठा र ‘जित्नैपर्ने’ मानसिकताको प्रभाव वरिपरि केन्द्रित रहेको संकेत गरिएको छ।

जोन योञ्जनको कथा तथा निर्देशन रहेको फिल्ममा महेश दवाडीको पटकथा र संवाद हुनेछ। प्रशान्त शिवाकोटीको संगीत रहनेछ । निर्माणपक्षले कलाकारहरूको नाम भने हालसम्म सार्वजनिक गरेको छैन ।

सेभेन सिज सिनेमाको प्रस्तुति रहेको अर्के चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’ प्रदर्शनको तयारीमा छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।