काठमाडौं । काठमाडौं उपत्यकामा फोहोर व्यवस्थापनमा गम्भीर संकट निम्तिएपछि सहरी विकासमन्त्री कुलमान घिसिङले बन्चरेडाँडास्थित ल्यान्डफिल्ड साइटको निरीक्षण गरेका छन् । उपत्यकाका सडक फोहोरले दुर्गन्धित हुँदै गएको अवस्थामा मन्त्री घिसिङले स्थानीय प्रशासन, फोहोर व्यवस्थापनसँग सम्बन्धित अधिकारी र स्थानीय प्रतिनिधिसँग छलफल गर्न बन्चरेडाँडाको निरीक्षण गरेका हुन् ।
यो निरीक्षणलाई उपत्यकाको दैनिक जीवनमा प्रभाव पारिरहेको फोहोर संकटलाई केन्द्रमा राखेर समाधानको बाटो खोज्ने प्रयासका रूपमा लिइएको छ । उपत्यकामा काठमाडौं महानगरपालिका र अरू स्थानीय तहबाट दैनिक एक हजार २०० टनभन्दा बढी फोहोर जम्मा हुन्छ ।
सिसडोल ल्यान्डफिल्ड साइटको क्षमता यसअघि नै सीमित भइसकेको छ । त्योसँगै बन्चरेडाँडा ल्यान्डफिल्डलाई फोहोर व्यवस्थापनको वैकल्पिकस्थलका रूपमा विकास गरिएको थियो । तर, विगतका वर्षमा यो साइटसँगका विभिन्न समस्याले गर्दा फोहोर व्यवस्थापन पूर्ण रूपमा प्रभावकारी हुन सकेको छैन ।
मन्त्री घिसिङले निरीक्षणका क्रममा साइटको पूर्वाधार, फोहोर विसर्जन प्रक्रिया तथा वातावरणीय प्रभावबारे विस्तृत जानकारी लिएका छन् । स्थानीयले फोहोर विसर्जनले हुने वातावरणीय प्रदूषण, पानीका मुहानमा असर, स्वास्थ्य जोखिम र सडक अवरोधजस्ता समस्याबारे चिन्ता व्यक्त गर्दै आएका छन् ।
०७९ भदौमा स्थानीयले सडक अवरुद्ध गरेपछि फोहोरका गाडी बाटोमै रोकिएका थिए । त्योसँगै उपत्यकामा फोहोर थुप्रने संकट निम्त्याएको थियो । अहिले पनि पुरानै स्थिति दोहोरिएको छ ।
०८० मा गरिएको एक अध्ययनमा बन्चरेडाँडा क्षेत्रमा फोहोरका कारण माटो र पानीमा प्रदूषण बढेको पाइएको थियो । त्यसले स्थानीय किसानको कृषि उत्पादनमा असर पुगेको छ ।
स्थानीयले विगतमा सरकारसँग १८ बुँदे सहमति गरे पनि ती कार्यान्वयन नभएको भन्दै पटक–पटक विरोध प्रदर्शन गरेका छन् । गएको असोजमा गरिएको छलफलमा पनि सहमति जुट्न सकेन । त्योसँगै फोहोर विसर्जनमा अवरोध सिर्जना भएको थियो ।
यी समस्याका कारण उपत्यकाको फोहोर व्यवस्थापन दिगो हुन सकेको छैन । स्थानीयले स्वास्थ्य जाँच, मुआब्जा तथा पूर्वाधार विकासको माग गर्दै आएका छन् ।

Comment