काठमाडौं । नेपालले आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत यूएईमा जारी एकदिवसीय सिरिजमा लगातार तेस्रो हार व्यहोरेको छ । नेपाल आज अमेरिकासँग ४ विकेटले पराजित भएको छ ।
टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४९.५ ओभरमा अल आउट हुँदै २७१ रन बनाएको थियो। नेपालले दिएको २७२ रनको विजयी लक्ष्य पछाएको अमेरिकाले ४९ ओभरमा ६ विकेट गुमाउँदै २७३ रन बनाउँदै लक्ष्य पूरा गरेको हो।
नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट लिए। गुल्सन झा, करण केसी र नन्दन यादवले १-१ विकेट लिए।नेपाली टोलीका लागि दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट अर्धशतकीय पाली खेले ।
उनले टोलीको खातामा ७५ रनको योगदान गरे । ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले पनि टोलीका लागि ४७ रनको योगदान गरे । करण केसीले ३१ बलमा ४९ रन बनाए । उनी अर्धशतक बनाउन चुके ।
त्यस्तै कुशल भुर्तेलले ४७, भीम सार्कीले ४३, कप्तान रोहित पौडेलले ३६ रन बनाए । सन्दीप लामिछाने ३ रनमा अविजित रहे ।
अमेरिकाको लागि हर्मित सिंहले सर्वाधिक ३ विकेट लिए। सौरभ नेत्रवल्कर र नोस्तुस केन्जीगीले समान २-२ विकेट लिए। जसदीप सिंह र शुभम रञ्जनेले १-१ विकेट लिए।
नेपालले जारी श्रृङ्खलाको पहिलो खेलमा अमेरिकासँग १०६ रनले पराजित भएको थियो। दोस्रो खेलमा नेपाल युएईसँग ५ विकेटले पराजित भयो।
लिग २ को तालिकामा हाल अमेरिका शीर्ष स्थानमा रहेको छ। २३ खेलमा १७ जित र ६ हारसहित अमेरिकाले ३४ अङ्क जोडेको छ।
नेपाल भने १९ खेलबाट ५ जित र १२ हार तथा २ खेलमा अङ्क बाँड्दा १२ अङ्कसहित सातौँ स्थानमा रहेको छ।

Comment