काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले इक्रा नेपाल लिमिटेड बाट ‘डबल ए माइनस (ICRANP-IR AA-)’ क्रेडिट रेटिङ प्राप्त गरेको छ। यो श्रेणीमा पर्ने संस्थाहरूलाई अत्यन्तै उच्च स्तरको सुरक्षित र समयमै वित्तीय दायित्व पूरा गर्ने क्षमतायुक्त मानिन्छ। यससँगै नेपाल लाइफ जीवन बीमा क्षेत्रमै यस्तो उच्च रेटिङ प्राप्त गर्ने पहिलो कम्पनी बनेको छ।
कम्पनीले आफ्नो वित्तीय स्थायित्व, बलियो बजार स्थिति, जोखिम व्यवस्थापन र समयमै दायित्व पूरा गर्ने क्षमताका आधारमा यो रेटिङ प्राप्त गरेको हो। सन् २००१ मा स्थापना भएको नेपाल लाइफले हाल देशभर १९० भन्दा बढी शाखा सञ्चालन गर्दै आएको छ। आर्थिक वर्ष २०८१/८२ को असार मसान्तसम्म कम्पनीले २७ प्रतिशतभन्दा बढी बजार हिस्सा कायम राख्दै बीमा क्षेत्रमा अग्रस्थान सुरक्षित गरेको छ।
नेपाल लाइफको सोल्भेन्सी अनुपात १५०.४० प्रतिशत रहेको छ, जुन नेपाल बीमा प्राधिकरणले तोकेको न्यूनतम दरभन्दा धेरै उच्च हो। कम्पनीको ९४ प्रतिशत लगानी स्थिर ब्याज दिने उपकरणहरूमा गरिएको छ, जसबाट असार मसान्तसम्म औसत १०.०२ प्रतिशत प्रतिफल प्राप्त भएको छ। अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा कम्पनीले २ अर्ब १२ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो, जसबाट १८ प्रतिशत शेयरधनी प्रतिफल वितरण भएको थियो।
जोखिम सन्तुलनका लागि कम्पनीले नेपाल पुनर्बीमा कम्पनी, हिमालयन पुनर्बीमा लिमिटेड र ह्यानोभर रि (जर्मनी) सँग पर्याप्त पुनर्बीमा व्यवस्था गरेको छ। करिब ९८.८० प्रतिशत व्यवसाय सावधिक जीवन बीमामा आधारित रहेको कम्पनीले दीर्घकालीन स्थायित्व कायम राख्दै आएको छ।
कम्पनीको हाल २३३ अर्ब रुपैयाँभन्दा बढी जीवन बीमा कोष, २४० अर्बभन्दा बढी लगानी र ६७ अर्बभन्दा माथिको दाबी भुक्तानी रहेको छ। साथै, कम्पनीले १ अर्ब ३२ करोड रुपैयाँ बराबरको विपद् कोष सुरक्षित राखेको छ।
प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली का अनुसार, कम्पनीले वित्तीय सबलता अझ सुदृढ बनाउन जोखिम न्यूनीकरणका उपकरणहरू र लगानी विविधिकरण रणनीतिलाई प्राथमिकतामा राखेको छ। साथै, कम्पनीले लगानीको प्रतिफललाई स्थिर र उच्च बनाउन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय असल अभ्यासहरू अपनाउँदै जाने प्रतिबद्धता जनाएको छ।

Comment