काठमाडौं । कुमारी बैंक लिमिटेडले विगतका वर्षहरूमा संकलन गर्दै आएको शैक्षिक छात्रवृत्ति रकम जीवित देवी कुमारी तृष्णा शाक्य (निवर्तमान) लाई एक औपचारिक समारोहका बीच हस्तान्तरण गरेको छ।
बैंकले बसन्तपुरकी जीवित देवी कुमारीको शैक्षिक प्रयोजनका लागि उनको कार्यकाल सुरु भएको वर्षदेखि प्रत्येक वर्ष एक लाख रुपैयाँ छात्रवृत्ति स्वरूप कोषमा जम्मा गर्दै आएको हो। उक्त कोषको उद्देश्य कुमारीको कार्यकाल समाप्तिपश्चात उनको शैक्षिक यात्रामा सहयोग पुर्याउनु रहेको बैंकले जनाएको छ।
सोही परम्परालाई निरन्तरता दिँदै बैंकले यस वर्ष कोषमा जम्मा भएको कुल ७ लाख ३८ हजार ८११ रुपैयाँ ९५ पैसा छात्रवृत्तिका रूपमा निवर्तमान कुमारीलाई हस्तान्तरण गरेको हो।
२४ वर्षदेखि निरन्तर बैंकिङ सेवा प्रदान गर्दै आएको कुमारी बैंकले देशभरका ३०२ शाखा, ५० एक्सटेन्सन काउन्टर, ४८ शाखारहित बैंकिङ इकाइ र ३१७ एटीएम मार्फत शिक्षा, स्वास्थ्य, उद्यमशीलता र वातावरण संरक्षणजस्ता क्षेत्रमा सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। बैंकले आगामी दिनमा यस्ता कार्यक्रमहरूलाई अझ प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।

Comment