काठमाडौं । एसवाई प्यानल लिमिटेडले कार्तिक १९ गतेदेखि आम सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ। कम्पनीले सर्वसाधारणका लागि कुल ४० लाख ७६ हजार १ सय ५६ कित्ता शेयर जारी गर्न लागेको हो। यस आईपीओमा कार्तिक २३ गतेसम्म आवेदन दिन सकिनेछ।
लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। प्रभु क्यापिटल लिमिटेड यस आईपीओको बिक्री प्रबन्धकका रूपमा रहेको छ। कम्पनीले यसअघि नै स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ जारी गरिसकेको छ।
एसवाई प्यानल लिमिटेड दक्षिण कोरियाको SY CO. LTD. को सहायक कम्पनी हो, जुन एसियाको अग्रणी प्यानल निर्माता मानिन्छ। कम्पनीले उच्च गुणस्तरका EPS र PUF स्यान्डविच प्यानल उत्पादन गर्छ, जसले तातो र चिसो दुवै प्रकारका हावापानीमा उत्कृष्ट इन्सुलेसन प्रदान गर्छ। साथै, कम्पनीले भूकम्प-प्रतिरोधी संरचनाको डिजाइनदेखि निर्माणसम्मको समाधान उपलब्ध गराउँदै UPVC झ्याल, स्टिल ढोका र अन्य निर्माण सामग्री पनि उत्पादन तथा बिक्री गर्दै आएको छ।

Comment