सोलुखुम्बु । सगरमाथा क्षेत्र आज बिहानैदेखि बाक्लो हिमपात र वर्षाले प्रभावित बनेको छ। खुम्बु पासाङल्हामु गाउँपालिकाको दिङ्बोचेभन्दा माथिल्लो क्षेत्रमा बाक्लो हिउँ परिरहेको छ भने नाम्चेबजारलगायत तल्लो क्षेत्रमा वर्षा भइरहेको छ। सगरमाथा प्रदूषण नियन्त्रण समितिका अध्यक्ष लामाकाजी शेर्पाका अनुसार मौसम अत्यन्त प्रतिकूल भएकाले पर्यटकहरू बाहिर निस्कन नसकी होटलभित्रै बसिरहेका छन्। हाल सो क्षेत्रमा करिब तीन हजार विदेशी पर्यटक रहेको अनुमान गरिएको छ, जसमा दुई हजारभन्दा बढी दिङ्बोचेभन्दा माथिल्लो क्षेत्रमा छन्।
हिमपातका कारण बाटो ढाकिएर हराउने जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालयले पर्यटकहरूलाई यात्रामा ननिस्कन आग्रह गरेको छ। प्रमुख जिल्ला अधिकारी लिलाकुमारी केसी पाण्डेका अनुसार उद्धार टोली तयारी अवस्थामा राखिएको छ र स्थानीय प्रहरीसँग निरन्तर सम्पर्कमा रहेर पर्यटकहरूको अवस्थाबारे जानकारी लिइँदैछ। लगातारको हिमपात र वर्षाले खुम्बुक्षेत्रको जनजीवन प्रभावित भएको छ। सुन्दर हिम दृश्यले क्षेत्रलाई मोहक बनाएको भए पनि ठण्डी र कठिनाइ बढेको स्थानीय बासिन्दाले बताएका छन्।

Comment