तनहुँ । तनहुँ जिल्लाका सामुदायिक वन समूहले आर्थिक वर्ष २०८१/८२ मा वन पैदावर बिक्रीमार्फत रु. आठ करोड ४३ लाख चार हजार पाँच सय तीन आम्दानी गरेका छन्।
डिभिजन वन कार्यालय तनहुँका सूचना अधिकारी तथा वन अधिकृत राजकुमार श्रेष्ठका अनुसार सो अवधिमा सामुदायिक वनहरूले ८३ हजार पाँच सय १३ दशमलव ४५ क्युफिट वन पैदावर बिक्री गरेका छन्। त्यसमध्ये ४० हजार तीन सय ३१ दशमलव ९५ क्युफिट साल, ४१ हजार एक सय तीन दशमलव ८० क्युफिट खयर र दुई हजार नौ सय ११ दशमलव ८६ क्युफिट अन्य वन पैदावर रहेका छन्। साथै ५० दशमलव १५ चट्टा दाउरा पनि बिक्री भएको छ।
जिल्लाभर करिब ७२ हजार ८० हेक्टर क्षेत्रमा वन क्षेत्र फैलिएको छ। तनहुँमा हाल ६ सय १६ वटा सामुदायिक वन र ४ सय ८५ वटा कबुलियती वन सञ्चालनमा छन्।
वन पैदावर बिक्रीबाट रु. एक करोड २० लाख चार हजार नौ सय ८६ राजस्व संकलन भएको डिभिजन वन कार्यालयले जनाएको छ। साथै निजी स्वामित्वमा रहेका वन क्षेत्रबाट ५१ हजार चार सय ५४ दशमलव ७५ क्युफिट वन पैदावर बिक्री गरिएको छ।
श्रेष्ठका अनुसार निजी क्षेत्रमा ४३ हजार तीन सय २४ दशमलव ८ क्युफिट खयर, नौ हजार एक सय ३० दशमलव ६७ क्युफिट अन्य वन पैदावर र ८६ दशमलव १५ चट्टा दाउरा बिक्री भएको छ।

Comment