अर्थमन्त्री खनाल भन्छन्ः बीमाले नसमेटेको जेनजी आन्दोलनको क्षति सरकारले व्यहोर्छ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको क्षति बीमा र वित्तीय प्रणालीले नसमेट्ने अवस्थामा सरकारले व्यहोर्ने बताएका छन् । आर्थिक पत्रकारहरूसँग शनिबारको भेटमा अर्थमन्त्री खनालले यस्तो बताएका हुन् ।

मन्त्री खनालले आन्दोलनका क्रममा निजी क्षेत्रको क्षति कतैबाट कभर नभए सरकारले व्यहोर्ने बताएका हुन् ।

‘कतिपय बजार प्रक्रियाबाटै व्यवस्थित हुन्छ । पुननिर्माण गर्नको निमित्त ऋण लगानीको प्रबन्ध गरिएको छ,’ मन्त्री खनालले भने, ‘भुक्तानी गर्नको निमित्त अहिले भैरहेको ऋणको म्याद थपिएको छ । कतिपय बीमा गरेकाको त्यहाँबाट कभर हुन्छ । बीमा, बैंक तथा वित्तीय प्रणालीले पनि नव्यहोरेको र बजार प्रक्रियाले पनि कभर गर्न नसक्ने खालको क्षतिबापत चाहिँ सरकार स्वयमले केही व्यवस्थापन गर्नुपर्छ भनेर हामीले बोलिरहेकै छौं ।’

हाल क्षतिको आधिकारिक तथ्यांक सरकारले संकलन गरिरहेको बताएका छन् । क्षतिको विवरण आएपछि व्यवसायीलाई सरकारबाट आवश्यक सहयोग हुने मन्त्री खनालको भनाइ छ ।

अहिलेसम्म आधिकारिक तथ्यांक आइनसकेको र टास्क फोर्समार्फत क्षतिको विवरण संकलनको काम भइरहेको बताएका हुन् ।

‘लस’ र ‘ड्यामेज’ भएको सम्पत्तिको तथ्यांक संकलनको काम भइरहेकोले त्यहाँबाट आउने रिपोर्टका आधारमा व्यवसायहरुले गुमाएको सम्पत्ति पुनस्थापना गर्नको निमित्त सरकारले सहयोग गर्ने मन्त्री खनालले बताए । आन्दोलनबाट भएको क्षतिलाई सरकारले मिहिन रूपमा हेरेको भन्दै उनले थपे, ‘व्यवसायहरुले गुमाएको सम्पत्ति पुनस्थापना गर्नको निमित्त सरकारले अनुदानको रुपमा हो कि सफ्ट लोनको रुपमा हो, त्यो चाहिँ हामी गर्छौ । त्यो काम अहिलेको सरकारले आफ्नो कार्यकाल भित्रै गरेर छोड्छ ।’

यो सरकारले नीतिगत स्थिरताको बाटो बनाउने काम गर्ने उनको भनाइ छ । अहिलेको सन्दर्भमा कानुनै बनाएर त्यसलाई निरन्तरता दिन सक्ने सम्भावना नभएको पनि खनालले बताए । यो सरकारले निर्वाचन गराउने भएकाले अरु कानुन बनाउन अध्यादेश जारी गर्न पनि सहज नभएको मन्त्री खनालको भनाइ छ । ‘यो सरकारलाई निर्वाचनसँग सम्बन्धित बाहेक अरु विषयमा कानुन बनाउनको निमित्त अध्यादेश लाउनलाई त्यति राजनीतिक रुपमा सहज छैन,’ खनालले भने, ‘प्रक्रियागत रूपमा मन्त्रिपरिषदको निर्णयबाट गर्न सकिने कामहरु हामीले गर्छौ । हामीले आवश्यक कानुनको ग्राउन्ड वर्क तयार गरेर मस्यौदा तयार गरेर अर्को सरकारलाई जिम्मा दिने काम चाहिँ गर्न सक्छौ ।’

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।