काठमाडौं । तिहारका मुख्य चार दिन देशभर ठूलो मौसमी प्रणालीको प्रभाव नदेखिए पनि पश्चिमी वायुको सामान्य प्रभाव रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले सार्वजनिक गरेको ‘तिहार विशेष मौसम बुलेटिन’ अनुसार लक्ष्मीपूजा (कात्तिक ३) देखि भाइटीका (कात्तिक ६) सम्म देशका अधिकांश भूभागमा मौसम सामान्यतया सफा रहनेछ। तर पहाडी र हिमाली क्षेत्रमा आंशिकदेखि साधारण बदली रहने र कतिपय स्थानमा फाटफुट वर्षा वा हिमपात हुन सक्ने सम्भावना रहेको छ।
कात्तिक ३ (लक्ष्मीपूजा) मा देशका पहाडी भूभागमा आंशिक बदली रहने र कोसी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा फाटफुट वर्षा हुन सक्नेछ।
कात्तिक ४ (औंसी) मा पनि यस्तै अवस्था रहनेछ, जबकि बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।
कात्तिक ५ (गोवर्धन पूजा) मा कोसी र कर्णाली प्रदेशका उच्च पहाड तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ।
कात्तिक ६ (भाइटीका) मा कोसी र मधेस प्रदेशसहित देशका पहाड भूभागमा आंशिकदेखि साधारण बदली रहने र केही स्थानमा हल्का वर्षा तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुने अनुमान गरिएको छ।
महाशाखाका अनुसार यस वर्षको तिहार अवधिमा ठूलो मौसमी अवरोध नआए पनि पश्चिमी वायुको हल्का प्रभावका कारण केही स्थानमा बदली र हल्का वर्षा–हिमपात देखिन सक्छ।
Comment