यमपञ्चकको दोस्रो दिन आज काग तिहार मनाइँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आज कात्तिक कृष्ण त्रयोदशीका दिन देशभर काग तिहार अर्थात् यमपञ्चकको पहिलो दिन मनाइँदैछ। यस दिन यमराजका दूतका रूपमा कागलाई मीठा–मीठा परिकार खुवाएर पूजा–आराधना गर्ने परम्परा छ।

धार्मिक विश्वासअनुसार यमराजले पृथ्वीको खबर कागका माध्यमबाट पाउने भएकाले कागलाई यमदूतको रूपमा मानिन्छ। कागले यमराज समक्ष शुभ समाचार पुर्‍याओस् भन्ने कामनासहित आजको दिन घर–घरमा कागलाई दही, भात, र अन्य मिठा खानेकुरा खुवाइन्छ।

लोकमान्यतामा काग घर वरिपरि आई कराएमा ‘शुभ बोल’ भन्ने चलन छ। यसैगरी, ‘काकेन दधि भक्षितम्’ भन्ने शास्त्रीय उल्लेखअनुसार कागलाई दही–भात विशेष प्रिय हुने भएकाले आज दही–भात खुवाउने परम्परा रहेको बताइन्छ।

यस अवसरमा कागेश्वरी मनोहरा नगरपालिका–१ स्थित कागेश्वरी महादेव मन्दिर र हनुमानढोकास्थित कागेश्वरी मन्दिरमा आज विशेष पूजा–आराधना गरिँदैछ। भक्तजनहरूले बिहानैदेखि मन्दिरमा पुगेर कागको प्रतीक स्वरूप पूजा गर्ने क्रम जारी छ।

तिहार पर्व यमराजसँग जोडिएको पर्व पनि हो। दुष्कर्म गर्नेहरूलाई यमराजका रूपमा दण्ड दिने र सत्कर्म गर्नेहरूको धर्मराजका रूपमा रक्षा गर्ने विश्वास यस पर्वसँग सम्बन्धित छ।

यसै क्रममा परिवारका सबै सदस्यको नाममा यम दीपदान गर्ने परम्परा शनिबार साँझदेखि नै सुरु भइसकेको छ। वैदिक सनातन विधिअनुसार दक्षिण फर्काएर दीपदान गर्नुपर्ने मान्यता छ। यमदीप दान गरे यमयातनाबाट मुक्ति पाइने धार्मिक विश्वास रहिआएको छ।

यस वर्ष तिथिको घटबढका कारण यमपञ्चक शनिबार साँझदेखि नै सुरु भएको हो। त्यसकै क्रममा धनतेरस पर्व पनि शनिबार नै मनाइएको छ। यस दिन गरगहना वा तामाका भाँडाकुँडा किन्ने चलन छ, जसले लक्ष्मी घरमै स्थिर बस्ने धार्मिक विश्वासलाई प्रतिनिधित्व गर्छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।