काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आईसीसी टी–ट्वान्टी विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै विश्वकपमा स्थान सुरक्षित गरेको छ । अब नेपालले ट्रफीका लागि सामोआसँग निर्णायक खेल खेल्ने तयारी गरेको छ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङका अनुसार नेपालले ट्रफी जितेमा खेलाडीहरूले जनही १९ लाख ५० हजार रुपैयाँ पुरस्कार स्वरूप पाउनेछन्। यदि नेपाल दोस्रो स्थानमा सीमित रह्यो भने प्रत्येक खेलाडीलाई जनही १३ लाख रुपैयाँ प्रदान गरिने बताइएको छ।
सदस्य–सचिव घिसिङले नेपाली टोलीको प्रदर्शनप्रति पूर्ण विश्वास व्यक्त गर्दै भने, “नेपालले ट्रफी जित्ने कुरामा म ढुक्क छु। तपाईंहरूका लागि १९ लाख ५० हजारको पुरस्कार पर्खिरहेको छ।”
नेपालले सामोआलाई हराउन सके ट्रफी आफ्नो बनाउनेछ। यदि हार भयो भने नेपालले ओमानको खेलको नतिजा कुर्नुपर्नेछ। नेपाली टोलीले यसअघि उत्कृष्ट प्रदर्शन गर्दै विश्वकपका लागि आफ्नो स्थान सुनिश्चित गरिसकेको छ।
Comment