नेपालले जित्यो मलेसियाविरुद्धको शृंखला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाली महिला क्रिकेट टोलीले आइसिसी टी–२० वरीयतामा आफूभन्दा छैटौं स्थान तल रहेको मलेसियासँगको पाँच खेलको टी–२० शृंखला ३–२ ले जित्दै सिरिज आफ्नो बनाएको छ।

बुधबार क्वालालम्पुरमा भएको पाँचौं तथा निर्णायक खेलमा नेपालले घरेलु टोली मलेसियामाथि पाँच विकेटको जित निकाल्दै शृंखलामा विजय हासिल गरेको हो।

अन्तिम खेलअगाडि दुवै टोली दुई–दुई खेल जितेर बराबरी अवस्थामा थिए। निर्णायक खेलमा नेपालकी अलराउन्डर राजमती ऐरी र कविता जोशीको उत्कृष्ट बलिङ प्रदर्शनले टोलीलाई जित दिलायो।

पहिले ब्याटिङ गरेको मलेसियाले सात विकेट गुमाउँदै एक सय ३ रनको योगफल बनायो। घरेलु टोलीका लागि कप्तान विनफ्रेड दुरैसिंगमले ४० रन जोड्दै सर्वाधिक स्कोर गरिन्। राजमती ऐरीले तीन ओभरमा १५ रन खर्चिएर तीन विकेट लिँदै उत्कृष्ट बलिङ गरिन् भने कविता जोशीले पनि चार ओभरमा १६ रन दिँदै तीन विकेट झारिन्।

लक्ष्य पछ्याउने क्रममा नेपालले दुई ओभर बाँकी रहँदा पाँच विकेटको क्षतिमा लक्ष्य भेट्टायो। ओपनर रुबी पोदारले २५ बलमा २६ रन र उपकप्तान पूजा महतोले २३ बलमा २४ रन बनाए। ओपनर सम्झना खड्काले १३ रन, कविता कुँवरले १४ रन र पूर्वकप्तान रुबिना क्षेत्रीले १५ बलमा अविजित १५ रन जोड्दै टोलीलाई जिततर्फ डोर्याइन्।

मलेसियाका छ बलरमध्ये पाँचले विकेट लिन सफल भए — आइना हामिजा, नुर दानिया, आइसा इलिसा, माहिरा इजाती र नुर एल्या — सबैले समान एक–एक विकेट लिए।

नेपालले यसअघि दोस्रो र चौथो खेल जितेको थियो भने मलेसियाले पहिलो र तेस्रो खेल आफ्नो बनाएको थियो।

यो जितसँगै नेपालले आफूभन्दा कमजोर मानिएको मलेसियासँगको शृंखला जिते पनि समग्र प्रदर्शन सुधार्नुपर्ने संकेत देखाएको छ। नेपाल आगामी जनवरीमा आइसिसी महिला टी–२० विश्वकप क्वालिफायरको आयोजना घरेलु भूमिमा गर्दै छ।

क्वालिफायरमा १० राष्ट्रले प्रतिस्पर्धा गर्नेछन्, जसबाट शीर्ष चार टोलीले सन् २०२६ मा इङ्ल्यान्ड र वेल्समा हुने महिला टी–२० विश्वकपका लागि स्थान बनाउनेछन्।

नेपालका लागि निर्णायक खेलमा उत्कृष्ट प्रदर्शन गर्ने राजमती ऐरी प्लेअर अफ द म्याच घोषित भइन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।