काठमाडौँ । हामी नेपाली संस्थाका संयोजक सुदन गुरुङले सामाजिक सञ्जालमार्फत ‘एरेस्ट केपी ओली, एरेस्ट रमेश लेखक एण्ड एरेस्ट मर्डर’ भन्ने नारासहित एक ट्रेन्ड सुरु गरेका छन्।
राष्ट्रका लागि ‘गर वा मर’ अभियानको रूपमा अगाडि बढाइएको यो अभियानमार्फत उनले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकमाथि जेनजी आन्दोलनको क्रममा दमन र प्रदर्शनकारीको हत्या गराएको गम्भीर आरोप लगाएका छन्। सुदनले आफ्नो फेसबुकमार्फत ओली र लेखकको तस्बिरसहित पोस्ट सार्वजनिक गर्दै उनीहरूलाई तत्काल पक्राउ गर्न माग गरेका छन्। साथै, यदि पक्राउ नगरिएमा जनदबाबमार्फत कारबाही गर्न बाध्य बनाइने चेतावनी पनि दिएका छन्।
जेनजी आन्दोलनका क्रममा भएको दमन र हिंसात्मक घटनाको छानबिनका लागि हालको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा जाँचबुझ आयोग गठन गरिसकेको छ।
आयोगलाई थप प्रभावकारी बनाउन आयोगले ओली र लेखकको राहदानी रोक्का गर्ने निर्णयसँगै उपत्यका छाड्नुअघि विशेष अनुमति लिनुपर्ने व्यवस्था गरेको छ। यसै सन्दर्भमा सुदन गुरुङसहित जेनजीका अभियन्ताहरूले बालुवाटार पुगेर प्रधानमन्त्री सुशीला कार्कीलाई सो घटनाका दोषीमाथि कारबाही गर्न दबाब दिएका थिए। त्यस्तै, काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले पनि बालुवाटार पुगेर प्रधानमन्त्रीसँग भेट गर्दै ओली र लेखकलाई पक्राउ गर्न माग गरेका थिए।

Comment