इलामको बाढी-पहिरोमा परी ज्यान गुमाउने ३५ जनाको सनाखत (नामसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इलाम । इलामको बाढी पहिरोमा ज्यान गुमाउने ३५ जनाकै सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय इलामले मृतकको नाम सार्वजनिक गर्दै घटनास्थलबाट उद्धारको काम जारी राखेको जनाएको छ ।

इलाम, देउमाई, माईजोगमाई, सूर्योदय, सन्दकपुर, माङसेबुङ र फाकफोकथुमका बस्तीहरूमा पहिरोले ठूलो जनधनको क्षति पुर्‍याएको प्रहरी प्रधान कार्यालयको केन्द्रीय समाचार कक्षले जनाएको छ ।

प्रहरीका अनुसार इलाम नगरपालिका–६ घोष गाउँमा प्रकाश तामाङको घरमा गएको पहिरोमा परेर २३ वर्षीय समिर देउजाली, २३ वर्षीय प्रविण तामाङ, २३ वर्षीय बिराज पाख्रिन तामाङ, ३ वर्षीय आवास दनुवार, ३२ वर्षीया अनु तामाङ र ८ वर्षीया प्रिन्सिखा मगरको मृत्यु भएको छ ।

त्यसैगरी सन्दकपुर गाउँपालिका–१ छाँगेमा छबि धन राईको घरमा पहिरो जाँदा ४३ वर्षीय भिमबहादुर राई, ६६ वर्षीया हरिमाया राई, ४७ वर्षीया देवी राई, ५४ वर्षीय शेखर राई, ७४ वर्षीया सारदा सेडाई र ४८ वर्षीया तारा देवी राईको ज्यान गएको छ।

माईजोगमाई गाउँपालिका–३ प्याङमा बर्मलाल सोङमीको घरमा गएको पहिरोबाट बर्मलाल (८२), बुद्धमाया सोङमी (७०), धनबल सोङमी (४६), सरला सोङमी (४२) र १४ वर्षीया प्रकृती सोङमीको ज्यान गएको छ ।

सूर्योदय नगरपालिका–१ मानेभञ्याङमा राजु क्षेत्रीको घरमा पहिरो जाँदा मनमाया क्षेत्री (६५), रस्मिका क्षेत्री (१०), दोलखाका दिप बस्नेत (४५), उनकी श्रीमती भवानी बस्नेत (४४) र छोरी दिव्या बस्नेत (१२) को मृत्यु भएको छ ।

देउमाई नगरपालिका–५ ढुसेनीमा दिपक लिम्बूको घरमा पहिरो जाँदा दिपक (३०), श्रीमती ऋषिका लिम्बू (२७), छोरी दिपिस्का लिम्बू (१०), भतिजा सौजन लिम्बू (९) र सौगात लिम्बू (११) को ज्यान गएको हो । सोही वडाको झारेमा मनकुमार लिम्बूको घरमा पहिरो जाँदा छोरा रोशन लिम्बू (२२) र बुहारी बेबिसा राई (२२) को मृत्यु भएको छ ।

यस्तै, देउमाई–३ लक्ष्मीबोटेमा गणेश मगरको घरमा पहिरोले २८ वर्षीय कृष्ण मगरलाई पुर्‍याएको छ । माङसेबुङ गाउँपालिका–१ पार्टी गाउँमा मदन लिम्बूको घरमा पहिरो जाँदा आमा कृष्णमाया लिम्बू (५७), फुपु माया लिम्बू (५०) र पाँचथर मिक्लाजुङकी १७ वर्षीया नेहा राईको मृत्यु भएको छ ।

फाकफोकथुम गाउँपालिका–३ रातमाटेमा गाईगोठ हेर्न गएका २८ वर्षीय सुरेश लिम्बू पहिरोमा पुरिएर मृत भेटिएका छन् । माईजोगमाई–६ ओडारेमा भक्तबहादुर थेवेको घरमा गएको पहिरोले २८ वर्षीय किरण थेवे, १८ वर्षीया मनमाया थेवे र ३ वर्षीया मुनुसा थेवेको ज्यान लिएको छ ।

जिल्ला प्रहरी कार्यालय इलामका अनुसार हालसम्म ५ जनाको सकुशल उद्दार गरिएको छ । एक जना बेपत्ता छन् । बेपत्ता इलाम नगरपालिका-६ बालनगाउँका ४८ वर्षीय महेन्द्र लिम्बूको खोजी जारी राखेको प्रहरीले जनाएको छ।

सूची हेर्नुहोस्

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।