आजदेखि आगामी सोमबारसम्म भारी वर्षाको पूर्वानुमान, सचेत रहन आग्रह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले असोज १७ देखि २० गतेसम्म देशका विभिन्न प्रदेशमा भारी वर्षा हुने सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।

प्राधिकरणले जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान उद्धृत गर्दै विशेष गरी कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा मध्यमदेखि भारी वर्षा हुने बताएको छ ।

यस अवधिमा नारायणी, बागमती, कमला र कोशी नदीमा बहाव खतरा तह नजिक पुग्न सक्ने देखिएको छ ।

‘बागमती प्रदेशको काठमाडौँ उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, रसुवा, मकवानपुर, चितवन, कोशी प्रदेशको सङ्खुवासभा, ताप्लेजुङ, इलाम, झापा, मोरङ, मधेस प्रदेशको बारा, पर्सा, सर्लाही, रौतहट लगायतका जिल्लामा आकस्मिक बहाव र डुबानको जोखिम उच्च छ, त्यसैले सतर्कता अपनाउन सबैमा अनुरोध गर्दछौँ,’ प्राधिकरणले जारी गरेको सूचनामा भनिएको छ ।

दशैंको भिडभाडलाई ध्यानमा राख्दै प्राधिकरणले अत्यावश्यक नभई सकेसम्म घरभन्दा टाढा र विशेष गरी राति यात्रा नगर्न आग्रह गरेको छ । सम्बन्धित जिल्ला विपद् व्यवस्थापन समितिले आवश्यक परे सवारी सञ्चालनमा रोक लगाउन सक्ने र सो निर्णय पालना गर्नुपर्नेमा पनि जोड दिइएको छ ।

त्यस्तै, पहिरोको जोखिममा रहेका र नदी किनारका बस्तीहरूलाई विशेष सतर्कता अपनाउन र डुबान हुने सम्भावित बस्तीका बासिन्दालाई सुरक्षित स्थानबारे अग्रिम जानकारी लिन र दिन आग्रह गरिएको छ ।

प्राधिकरणले तीनवटै सुरक्षा निकाय, स्थानीय तह, स्वयंसेवक र सरोकारवाला संस्थालाई पूर्वतयारी, पूर्वकार्य र प्रतिकार्यमा सक्रिय रहन निर्देशन दिएको छ ।

जोखिमयुक्त सडक र राजमार्गमा तुरुन्त परिचालन गर्न डोजर, एक्साभेटर, लोडर लगायतका उपकरण तयारी अवस्थामा राख्नुपर्ने पनि सूचनामा उल्लेख गरिएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।