काठमाडौं । जेन–जी आन्दोलन दमनबारे छानबिन गर्न गठित न्यायिक आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसहित पाँच जनाको विदेश भ्रमणमा रोक लगाउन सिफारिस गरेको छ।
आयोगले आइतबार साँझ सार्वजनिक गरेको पत्रअनुसार विदेश भ्रमणमा रोक लगाउन सिफारिस गरिएका व्यक्तिहरूमा तत्कालीन प्रधानमन्त्री ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक, गृहसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धान प्रमुख हुतराज थापा र काठमाडौंका निवर्तमान प्रमुख जिल्ला अधिकारी (सीडीओ) छवि रिजाल रहेका छन्।
आयोगले उनीहरूलाई घुमाउरो प्रक्रियामार्फत पासपोर्ट रोक्का गर्न सिफारिस गरेको भए पनि आधिकारिक पत्रमा ‘पासपोर्ट रोक्का’ भन्ने शब्द प्रयोग नगरी ‘विदेश भ्रमणमा रोक लगाउने’ भनिएको छ। साथै, आयोगले उनीहरूलाई सरकारी स्वीकृतिबिनै काठमाडौं उपत्यका छाड्न नपाउने व्यवस्था मिलाउन पनि सिफारिस गरेको छ।
गत २३ भदौमा भएको जेन–जी आन्दोलनका क्रममा प्रहरीले घातक हतियार प्रयोग गर्दा १९ जना प्रदर्शनकारीको ज्यान गएको थियो। तत्कालीन प्रधानमन्त्री ओलीले आफूले प्रहरीलाई गोली चलाउन निर्देशन नदिएको दाबी गर्दै आएका छन्। तर, त्यतिबेला गृह मन्त्रालयले ‘जसरी पनि भीडलाई संघीय संसद भवनतिर जान रोक्न’ निर्देशन दिएको पाइएको छ।
भीड नियन्त्रणका क्रममा तत्कालीन काठमाडौं सीडीओ छवि रिजालले गोली चलाउन आदेश दिएको खुलेको छ। आयोगले छानबिनको क्रममा तत्कालीन प्रधानमन्त्री ओली, गृहमन्त्री लेखक र सीडीओ रिजालको भूमिका हुनसक्ने देखिएको र उनीहरूलाई पासपोर्टसहित विदेश जान दिने अवस्था भए अनुसन्धान प्रभावित हुने भन्दै यस्तो सिफारिस गरेको जनाएको छ।

Comment