काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले २०८२ सालको विजयादशमीको अवसरमा सम्पूर्ण नेपाली जनतामा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गरेका छन्। असोज १२ गते सार्वजनिक गरिएको सन्देशमार्फत उनले दशैं पर्वलाई नेपालीहरूका लागि केवल सांस्कृतिक मात्र नभई राष्ट्रिय एकता, परम्परा र शुभेच्छा आदानप्रदानको महत्वपूर्ण अवसरको रूपमा व्याख्या गरेका छन्। राष्ट्रका समग्र हितका लागि अबको राज्य व्यवस्था समयसापेक्ष परिवर्तनसहित अगाडि बढ्नुपर्ने उनले औंल्याएका छन्।
पूर्वराजाले सन्देशमा विशेष गरी युवा पुस्ताको आकांक्षा, नवप्रवर्तनशील सोच र ऊर्जालाई समेट्नसक्ने राज्य प्रणाली आवश्यक रहेको बताएका छन्। “नयाँ पुस्ताको अभिलाषा र इच्छालाई हाम्रो राज्य व्यवस्थाले समेट्नै पर्दछ,” उनले भनेका छन्, “विकसित बन्दै गएको आधुनिक प्रविधि र वैज्ञानिक दक्षतालाई हामीले ग्रहण गर्नै पर्दछ। भौतिक विकासलाई अघि बढाउँदै विश्व व्यवस्थामा बदलिँदै गएको राष्ट्रिय समाजको संरचनालाई हामीले अँगाल्नु पर्दछ।” यसका साथै उनले नेपाल सदा स्वतन्त्र र स्वाभिमानी राष्ट्रका रूपमा उभिइरहने कुरामा जोड दिँदै भूराजनीतिक चक्रव्यूहमा नफसी, देशले आफ्नो बाटो आफैं तय गर्न सक्नुपर्ने धारणा राखेका छन्।
उनको भनाइमा, नेपालका पूर्वजहरूले राष्ट्रको एकता, अखण्डता, सार्वभौमिकता र सम्प्रभुताका लागि गरेका त्याग र बलिदान नै आजको राष्ट्रिय अस्तित्व र गौरवशाली संस्कृतिको मेरुदण्ड हो। यही आधारमा नेपालले आफ्नो पहिचान, मूल्य र आत्मनिर्भरता कायम राख्दै आधुनिक विश्वसँग कदम मिलाएर हिँड्नुपर्ने उनको सन्देश थियो। उनले आधुनिकता आत्मसात् गर्ने क्रममै मौलिकता नबिर्सनुपर्नेमा विशेष रूपमा जोड दिएका छन्।
पूर्वराजाको सन्देशको केन्द्रमा युवा पुस्ता रहेको देखिन्छ। उनले युवाहरूलाई देशको भविष्यको आधारस्तम्भको रूपमा चित्रण गर्दै, उनीहरूमा निहित देशभक्ति, ऊर्जा र नवीन सोचले मात्र राष्ट्रलाई बलियो, समृद्ध र आत्मनिर्भर बनाउने बताए। “अब बिगार्ने होइन, सपार्ने तर्फ हाम्रो कार्यक्रम अघि बढ्नु पर्छ,” भन्दै उनले विगतका कमजोरीहरूप्रति आत्मआलोचनासमेत गरेका छन्। साथै, राज्य सञ्चालनमा सत्य, मर्यादा, अनुशासन र अग्रजहरूको आदर आवश्यक रहेको उल्लेख गर्दै राष्ट्रिय चेत र सोचको आवश्यकता पनि औंल्याएका छन्।
देश हाल चरम विध्वंस र शोकको स्थितिमा रहेको उल्लेख गर्दै पूर्वराजाले यसपालिको दशैं सांस्कृतिक तथा पारिवारिक रूपमै सीमित गरेर मनाउनुपर्ने बाध्यता रहेको बताएका छन्। यही कारण उनले यस वर्ष वृहत्तर रूपमा टीका–जमरा वितरण नगर्ने जानकारी समेत दिएका छन्। सन्देशको अन्त्यमा उनले सम्पूर्ण नेपालीमा आशा, विश्वास र भरोसाका साथ नयाँ पुस्ता र नयाँ समय अगाडि बढोस् भन्ने शुभकामना व्यक्त गर्दै, श्री नवदुर्गाभवानीले राष्ट्रलाई दिव्यपथतर्फ अग्रसर गरून् भन्ने कामना गरेका छन्।
पूर्वराजाको यो सन्देश केवल चाडपर्वको औपचारिक शुभकामना मात्र नभई राष्ट्रको वर्तमान स्थिति, भावी दिशा र जनअपेक्षाका सम्बन्धमा गहिरो सन्देश बोकेको देखिन्छ। विकास, समृद्धि र पहिचानको समन्वय गर्दै नयाँ पुस्ताको नेतृत्वमा नेपालले पुनः आत्मनिर्भर, सशक्त र स्वाभिमानी राष्ट्र बन्न सक्ने विश्वास उनले व्यक्त गरेका छन्।
Comment