काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मतदाता नामावली ऐन २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार मतदाता नामावली संशोधनसम्बन्धी अध्यादेश जारी गरेका हुन्।
जेन–जी विद्रोहपछि बनेको अन्तरिम सरकारले आगामी २१ फागुनमा प्रतिनिधिसभा निर्वाचन गर्ने घोषणा गरेको छ। सोही निर्वाचनलाई लक्षित गरी मतदाता नामावली संशोधनसम्बन्धी अध्यादेश जारी भएको हो।
‘संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा’ उक्त अध्यादेश जारी भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।
अध्यादेश जारी गर्नुअघि अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग कुराकानी गरेकी थिइन्।
मतदाता नामावली ऐनको दफा ४ मा संसोधन गर्ने गरी सरकारले अध्यादेश ल्याएको थियो।
उक्त दफामा निर्वाचनको मिति घोषणा भइसकेपछि मतदाता नामावलीमा नाम दर्ता गरिन छैन भन्ने व्यवस्था छ। सोही व्यवस्था अध्यादेशबाट परिमार्जन गर्दै ‘प्रतिनिधिसभा कार्यकाल पूरा हुनु अगावै विघटन भएर निर्वाचन घोषणा भएको अवस्थामा निर्वाचन आयोगले अवधि तोकी मतदाता नामावली संकलन, दर्ता वा अध्यावधिक गर्न सक्नेछ’ भन्ने व्यवस्था गरिएको स्रोतको भनाइ छ।
Comment