काठमाडौं । नेपालको अग्रणी निजी वायुसेवा प्रदायक बुद्ध एयरले भारतको पश्चिम बंगालको राजधानी कलकत्ता उडान पुन: सुरु गर्ने भएको छ ।
बुद्धले आगामी १९ अक्टोबर अर्थात् कात्तिक २ गतेबाट सिधा उडान सुरु गर्ने भएको हो ।
अन्तर्राष्ट्रिय उडानले नेपाली यात्रुका लागि धार्मिक, सांस्कृतिक तथा व्यापारिक अवसरलाई सहज बनाउने विश्वास गरिएको छ ।
बुद्ध एयरका अनुसार काठमाडौँ–कलकत्ता सिधा उडान हप्तामा तीनपटक हुनेछ । कम्पनीका अनुसार आइतबार, मङ्गलबार र बिहीबार सञ्चालन हुनेछ ।
काठमाडौँबाट बिहान ७:०० बजे प्रस्थान गर्ने उडान, कोलकाताबाट भने स्थानीय समय अनुसार ९:२० बजे फर्कनेछ । उडानका लागि ७२ सिट क्षमताको एटीआर–७२ जहाज प्रयोग गरिनेछ भने, सम्पूर्ण यात्रा समय लगभग १ घण्टा ३५ मिनेट हुनेछ ।
न्यूनतम भाडादर: १३ हजार ३५३ रुपैयाँदेखि सुरु
उडान पुन: सुरु गरिँदै गर्दा बुद्ध एयरले एकतर्फी भाडादरको सुरुवात १३ हजार ३५३ रुपैयाँ राखेको छ भने अधिकतम भाडा ३१ हजार २०० रुपैयाँसम्म पुग्ने देखिन्छ । ट्राभल एजेन्सीका अनुसार हाल टिकट बुकिङ खुला भइसकेको छ । यात्रुहरूले अनलाइन तथा कार्यालय मार्फत अग्रिम बुकिङ गर्न सक्नेछन् ।
धार्मिक र पर्यटकीय प्याकेजको व्यवस्था
बुद्ध एयरको भगिनी संस्था बुद्ध होलिडेज मार्फत भारत तथा नेपालका विभिन्न धार्मिक गन्तव्यमा प्याकेज टुरहरू पनि सञ्चालनमा ल्याइएको छ ।
नेपाली यात्रुहरूका लागि जगन्नाथ पुरी, सुन्दरवन, गंगासागर लगायतका कलकत्ता आसपासका प्रमुख स्थलहरू समेटिएका प्याकेजहरू तयार पारिएको छ । त्यसैगरी भारतीय पर्यटकका लागि पोखरा, चितवन, लुम्बिनी लगायतका गन्तव्यमा आकर्षक इनबाउन्ड प्याकेजहरू उपलब्ध गराइने कम्पनीले जनाएको छ ।
विगतको अनुभवबाट नयाँ सुरुवात
बुद्ध एयरले यसअघि पनि सन् २०१९ मा कलकत्ता रुटमा उडान सुरु गरेको थियो । तर, अपेक्षाअनुरूप यात्रु नआएको भन्दै सेवा केही समयमै बन्द गरिएको थियो ।
कम्पनीले यो पटक भने यात्रुहरूको चासो, बजारको माग र धार्मिक पर्यटन प्रवद्र्धनलाई ध्यानमा राख्दै सशक्त रणनीतिसहित सेवा पुन: सुरु गर्न लागेको जनाएको छ ।
हाल बुद्ध एयरले वाराणसी–काठमाडौँ बीच साप्ताहिक तीन उडान नियमित रूपमा सञ्चालन गर्दै आएको छ । कलकत्ता रुट थपिएसँगै कम्पनीले भारतका अन्य प्रमुख शहरहरूसँगको हवाई सम्पर्क विस्तार गर्ने योजना बनाइरहेको छ ।
Comment