कूल निर्यातमा ५० प्रतिशत सोयाबीन तेलको योगदान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिनामा नेपालले ४७ अर्ब ३१ करोड रुपैयाँबराबरको वस्तु निर्यात गरेको छ। भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार, अघिल्लो वर्षको सोही अवधिमा २५ अर्ब ९ करोड ३१ लाख रुपैयाँको वस्तु निर्यात भएको थियो। यो वर्ष सो अवधिमा निर्यातमा ८८.५७ प्रतिशतले वृद्धि भएको देखिएको छ, जुन पछिल्लो समयको उल्लेखनीय उछाल हो।

यस अवधिमा सबैभन्दा बढी निर्यात सोयाबीन तेल भएको छ। नेपालले भारतमा ९ करोड ८४ लाख २४ हजार ६ सय ६८ किलो सोयाबीन तेल निर्यात गर्दा २० अर्ब ४२ करोड रुपैयाँभन्दा बढी आम्दानी गरेको छ। कुल निर्यात मूल्यको आधाभन्दा बढी हिस्सा यही वस्तुले ओगटेको छ। दोस्रो स्थानमा सनफ्लावर तेल रहेको छ, जसको निर्यात १ अर्ब ३८ करोड ४७ लाख रुपैयाँ बराबरको रहेको छ। नेपालले भारतमा ३ करोड ५१ लाख ९५ हजार २ सय ४९ लिटर सनफ्लावर तेल पठाएको छ।

पछिल्लो वर्ष निर्यातको पुछारमा रहेको रिफाइण्ड पाम आयल भने यस वर्ष उल्लेखनीय वृद्धि गर्दै तेस्रो स्थानमा उक्लिएको छ। चालु वर्षको साउन र भदौमा नेपालले भारतमा ७३ लाख ९९ हजार ५ सय ४४ लिटर पाम आयल निर्यात गर्दै १ अर्ब ३१ करोड ८१ लाख ९० हजार रुपैयाँ आम्दानी गरेको छ।

तेलजन्य वस्तुहरूबाहेक ब्लिच नगरिएको फेब्रिक्स, कार्पेट, अलैंची, विभिन्न प्रकारका जुसहरू, र पोर्टल्याण्ड सिमेन्ट समेत निर्यात भएका छन्। दुई महिनाको अवधिमा मात्रै ४५ करोड १३ लाख रुपैयाँबराबरको पोर्टल्याण्ड सिमेन्ट निर्यात भएको छ।

सोयाबीन, सनफ्लावर र पाम तेलको उच्च निर्यातले नेपालको समग्र निर्यात वृद्धिमा महत्वपूर्ण योगदान दिएको छ। यद्यपि दीर्घकालीन सन्तुलित व्यापार अभिवृद्धिका लागि नेपालले उत्पादन विविधीकरण र नयाँ निर्यात गन्तव्यको खोजीमा केन्द्रित हुन आवश्यक देखिन्छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।