काठमाडौं । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिलकुमार सिन्हाले उद्योग र व्यापार वृद्धि नहुँदासम्म युवाहरूले अवसर नपाउने बताएका छन्। सोमबार राष्ट्रपति समक्ष सपथ लिएपछि मन्त्रालयमा आयोजित कार्यक्रममा पदभार ग्रहण गर्दै मन्त्री सिन्हाले यस्तो धारणा राखेका हुन्।
उनले मुलुकमा विद्यमान आन्तरिक अस्थिरता, सुशासनको अभाव र अवसरहरूको कमीले विशेषतः युवा पुस्तालाई गम्भीर असर पारिरहेको उल्लेख गर्दै सरकारको प्राथमिकता युवामैत्री नीतिमा रहने स्पष्ट पारे।
“हाम्रो युवा पुस्ता जसले उज्वल भविष्यको सपना देखेका थिए, उनीहरू आज थप चुनौतीको सामना गरिरहेका छन्,” मन्त्री सिन्हाले भने, “तर नैतिक मूल्य र मानवीय सहिष्णुताले आशाको किरण देखाएको छ।”
उनले देशभर बेरोजगारी, भ्रष्टाचारविरुद्धको आवाज, उद्यमशीलता प्रवर्द्धन र राज्यको जवाफदेहिताको माग साझा चिन्ताका विषय बनेको बताएका छन्।
७० भन्दा बढी सहिदहरूको बलिदानलाई स्मरण गर्दै मन्त्री सिन्हाले ती अनुहारहरू अझै पनि आफ्ना आँखामा झलझलाउँदा देखिने बताएका छन्। “म दृढ वाचा गर्दछु, ती सहिदहरूको बलिदान खेर जानेछैन। मेरा हरेक निर्णयमा उनीहरूको त्यागले मलाई मार्गदर्शन गर्नेछ,” उनले जोड दिए।
३४ वर्षभन्दा बढीको कानूनी अनुभव, उद्योग–व्यापार, कर तथा वैदेशिक लगानीमा सक्रिय संलग्नता तथा सर्वोच्च अदालतमा पूर्वन्यायाधीशको हैसियतमा काम गरेका सिन्हाले भने, “जब उद्योग–व्यवसाय अघि बढ्दैन, तब अर्थतन्त्र बलियो बन्न सक्दैन। जबसम्म युवाहरूलाई स्वदेशमै अवसर प्राप्त हुँदैन, मुलुकले प्रगति गर्न सक्दैन।”
मन्त्री सिन्हाले सहिद परिवार र द्वन्द्वपीडितहरूका लागि रोजगारी सिर्जना गरिने, निजी क्षेत्रसँग सहकार्य गरी सम्मानजनक जीविकोपार्जन सुनिश्चित गरिने प्रतिबद्धता जनाए। उनले युवाहरूको सीप विकास गर्दै स्वदेशमै रोजगारीका अवसरहरू सिर्जना गरिने वातावरण बनाइने बताए।
“युवाहरू विदेशिन बाध्य नहोस् भनेर हामी सीप विकासमा जोड दिनेछौं,” मन्त्री सिन्हाले भने, “अनुमति प्रणाली, कागजी प्रक्रिया र प्रशासनिक झन्झटलाई डिजिटल, पारदर्शी र सरल बनाइनेछ।”
उनले देश पुनर्निर्माणको चरणमा रहेको भन्दै संघीय सरकारका सेवाहरूलाई स्थानीय तहसम्म प्रभावकारी रूपमा विस्तार गरिने जानकारी दिए।
‘मेड इन नेपाल’ अभियान अन्तर्गत स्वदेशमै उत्पादित सामग्रीहरू, जस्तै फर्निचर र लत्ताकपडा, जहाँ सम्भव हुन्छ त्यही उपयोग गरिने उनले बताए।
“यो सरकार एक अन्तरिम सरकार हो,” उनले थपे, “हाम्रो मूल उद्देश्य स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण निर्वाचन सम्पन्न गर्नु हो।”
कर्पोरेट कानुनका विज्ञका रूपमा परिचित सिन्हालाई प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति कार्यालयमार्फत उद्योग मन्त्री नियुक्त गरिएको हो।
Comment