काठमाडौँ । दशैंको फूलपातीका दिन अर्थात् असोज १३ गते प्रदर्शन हुने भनिएको बहुप्रतिक्षित नेपाली चलचित्र ‘अभिमन्यु : च्याप्टर १’ को प्रदर्शन मिति सरेको छ। निर्माण पक्षले आइतबार एक विज्ञप्ति जारी गर्दै अब यो फिल्म असोज २४ गतेदेखि नेपाली तथा हिन्दी दुवै भाषामा नेपाल, भारत र विश्वभर एकैसाथ प्रदर्शन हुने जानकारी दिएको छ।
फिल्म एकैदिनमा चारवटा नेपाली चलचित्र रिलिज हुने भीडमा परेपछि, पर्याप्त शो नपाउने सम्भावनालाई ध्यानमा राख्दै नयाँ मिति तय गरिएको हो। निर्माण पक्षका अनुसार, अब फिल्मले सोलो रिलिजको मौका पाएको छ, जसलाई उनीहरूले उत्साहजनक र लाभदायक अवसरका रूपमा लिएका छन्।
विज्ञप्तिमा भनिएको छ, “हाम्रो सम्पूर्ण मार्केटिङ सामग्री प्रयोग भइसकेको अवस्था, अन्य चलचित्रसँगको भिडन्त, र सिनेमाघरहरूलाई शो व्यवस्थापनमा पर्ने कठिनाइलाई ध्यानमा राख्दै हामीले अन्ततः असोज २४ लाई शुभ दिनका रूपमा तय गरेका छौँ।”
सेभेन सिज सिनेमाको प्रस्तुति रहेको यस चलचित्रमा कामेश्वर चौरसिया, सरिता गिरी, किरण श्रेष्ठ, लक्ष्मी बर्देवा, गौमाया गुरुङ, प्रकाश दाहाल, शिशिर वाङ्देल लगायत कलाकारहरूको अभिनय रहेको छ। चलचित्रको निर्देशन सुशान्त गौतम ले गरेका छन् भने क्रिएटिभ निर्देशक मदन थापा रहेका छन्।
फिल्मको लेखन मुकेश खनाल को रहेको छ। निर्माता विनोद पौडेल र गुञ्जन गिरी छन्। सह-निर्माता रमेश चौलागाईं र हरि श्रेष्ठ हुन् भने कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहेका छन्।
‘अभिमन्यु : च्याप्टर १’ को सोलो रिलिजले नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय बजारमा नयाँ उचाइ दिने अपेक्षा गरिएको छ। नेपाली संस्करणसँगै हिन्दी भाषामा पनि रिलिज हुने भएकाले यो चलचित्रलाई एक ‘ग्लोबल नेपाली सिनेमाटिक प्रोजेक्ट’ को रूपमा हेरिएको छ।
Comment