काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो मन्त्रिपरिषद् विस्तार गर्दै थप पाँच जना मन्त्री नियुक्तिका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेकी छन्। विभिन्न क्षेत्रका विज्ञ र पेशेवर व्यक्तित्वहरूलाई समेटेर बनाइएको यो टोलीमा न्याय, प्रशासन, पत्रकारिता, कृषि तथा विज्ञान क्षेत्रका अनुहार समावेश छन्।
प्रधानमन्त्री कार्कीले उद्योग, स्वास्थ्य, कृषि, सञ्चार र शिक्षा मन्त्रालयको जिम्मेवारीका लागि नाम सिफारिस गरेकी हुन्।
उद्योगमन्त्रीमा सर्वोच्च अदालतका पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, स्वास्थ्य मन्त्रालयको नेतृत्वका लागि मन्त्रालयकै अतिरिक्त सचिव संगीता कौशल मिश्र सिफारिस भएका छन्।
कृषि मन्त्रालयको जिम्मेवारी मदन परियार ले सम्हाल्नेछन्। परियार राज्य पुनर्संरचना आयोगका पूर्वसंयोजक हुन्। आयोगले २०६८ सालमा १० प्रदेशको प्रारूपसहित प्रतिवेदन बुझाएको थियो, तर संविधान सभा विघटनपछि त्यो कार्यान्वयन हुन सकेन।
सञ्चार मन्त्रालय जगदीश खरेल ले सम्हाल्नेछन्। खरेल लामो समय पत्रकारिता क्षेत्रमा सक्रिय थिए।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय महावीर पुन ले सम्हाल्ने भएका छन्। राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक पुनले नेपालका ग्रामीण क्षेत्रहरूमा प्रविधिको पहुँच विस्तार गर्दै सामाजिक रूपान्तरणमा योगदान दिँदै आएका छन्। उनलाई रोमन म्यागासेसे पुरस्कारले समेत सम्मानित गरिसकेको छ।
यसअघि नै अर्थ मन्त्रालयको जिम्मेवारी पूर्वसचिव रामेश्वर खनाल, ऊर्जा मन्त्रालय कुलमान घिसिङ, र गृह मन्त्रालय ओमप्रकाश अर्याल लाई दिइसकिएको छ।
प्रधानमन्त्री कार्कीको यो नयाँ समावेशी र विज्ञ-केन्द्रित मन्त्रिपरिषद् विस्तारलाई जनउत्तरदायी र कार्यकुशल सरकार गठनतर्फको कदमको रूपमा हेरिएको छ।
Comment