काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी थालेकी छिन्। जेनजी समूहका व्यक्तित्वहरूलाई समेत समेट्दै मन्त्रिपरिषद् थप विस्तार गर्न लागिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जानकारी दिएको छ।
स्रोतका अनुसार मन्त्री पदका लागि प्रस्तावित उम्मेदवारहरूको कागजात संकलन भइरहेको छ र प्रक्रिया पूरा भएलगत्तै आजै सात जनाको नाम राष्ट्रपति कार्यालयमा पठाइनेछ।
राष्ट्रपति कार्यालयले समेत मन्त्रिपरिषद् विस्तारको जानकारी पाएको बताइएको छ। प्रधानमन्त्री कार्कीले राष्ट्रको विविध क्षेत्रमा योगदान पुर्याएका व्यक्तिहरूलाई मन्त्रिपरिषद्मा ल्याउने रणनीति अनुरूप नयाँ अनुहारहरू समावेश गर्न लागेकी हुन्।
यसपटक चर्चामा आएका सम्भावित मन्त्रीहरूमा राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुन, वरिष्ठ कलाकार तथा पाइलट विजय लामा, सञ्चारकर्मी जगदीश खरेल, मानवअधिकारकर्मी मोहना अन्सारी लगायतको नाम रहेको स्रोतले जनाएको छ।
यसअघि प्रधानमन्त्री कार्कीले प्रशासन, ऊर्जा र कानुन क्षेत्रमा अनुभवी मानिने रामेश्वर खनाल, कुलमान घिसिङ र ओमप्रकाश अर्याललाई मन्त्री नियुक्त गरेकी थिइन्। नयाँ टोलीमा पनि विज्ञ र जनप्रिय व्यक्तित्वलाई प्राथमिकता दिइने देखिन्छ।
विश्लेषकहरूका अनुसार, कार्की नेतृत्वको अन्तरिम सरकारले टेक्नोक्र्याटिक मोडलमा आधारित सरकार निर्माण गर्दै जनविश्वास हासिल गर्ने प्रयास गरिरहेको छ।
Comment