काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा उल्लेखनीय सुधार देखिएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज ११६.०१ अंकले उकालो लाग्दै २६२३.६२ बिन्दुमा पुगेको छ। यो वृद्धि प्रतिशतमा ४.४४% हो।
गत बिहीबार बजारमा लगातार तेस्रोपटक नेगेटिभ सर्किट ब्रेकर लागेपछि नेप्से १६०.३३ अंकले घटेर २५११.९१ बिन्दुमा सीमित भएको थियो। त्यसको तुलनामा आजको सुधार बजारमा लगानीकर्ताको मनोबल फर्किन थालेको संकेतका रूपमा लिइएको छ।
आज सेयर बजारमा ९ अर्ब १७ करोड रुपैयाँभन्दा माथिको कारोबार भएको छ, जुन गत बिहीबारको ७२ करोड १५ लाख रुपैयाँको कारोबारको तुलनामा निकै उच्च हो।
आजको कारोबारमा २२४ कम्पनीको सेयर मूल्य बढेको छ भने २८ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ। बजारको यो सुधारलाई अर्थतन्त्रमा सकारात्मक संकेतका रूपमा समेत हेरिएको छ।
विश्लेषकहरूका अनुसार पछिल्लो समय सरकारले सेयर बजारप्रति देखाएको चासो, ब्याजदरमा आएको स्थिरता र लगानीकर्ताको पुनः उत्साहले बजार सुधारमा टेवा पुर्याएको हो।
Comment