लगानीको वातावरण बिग्रन नदिऔं : अध्यक्ष ढकाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशमा लगानीको वातावरण बिग्रन नदिन सरकार, राजनीतिक दलहरू र सरोकारवाला सबै पक्ष गम्भीर बन्नुपर्ने आग्रह गरेका छन्। हालै सम्पन्न जेएनजी आन्दोलनका क्रममा भएका आगजनी, तोडफोड र निजी सम्पत्तिमाथि आक्रमणपछि उनले यस्तो धारणा व्यक्त गरेका हुन्।

अध्यक्ष ढकालले भदौ २३ र २४ गतेको आन्दोलनपछि क्षति बेहोरेका बहुराष्ट्रिय कम्पनी एनसेल, चौधरी ग्रुपको सिजी पार्क, र चन्द्रागिरि हिल्सको निरीक्षण गरे। निरीक्षणपछि उनले यस्ता हिंसात्मक घटनाहरूले देशको दिगो आर्थिक विकास र लगानीको वातावरणमा दीर्घकालीन असर पार्ने बताउँदै सबै सरोकारवाला पक्षलाई गम्भीरता देखाउन अनुरोध गरे।

उनले आन्दोलनमा भएको राजनीतिक घुसपैठका कारण देशभरका ठूला, मझौला र साना उद्योगहरू तथा व्यक्तिगत सम्पत्तिहरूमा आगजनी र तोडफोड भएको र यसले दैनिक उत्पादन, रोजगारी र सरकारी राजस्वमा प्रत्यक्ष असर परेको उल्लेख गरे। “नेपालमा लगानीको वातावरण बिग्रने अवस्था आएको छ। यस्ता घटनाहरूले देशको आर्थिक विकासमा गम्भीर असर पार्छ,” अध्यक्ष ढकालले भने।

ढकालका अनुसार यस्ता घटनाहरूले विदेशी तथा स्वदेशी लगानी दुवैलाई निरुत्साहित गर्ने खतरा रहेको छ। महासंघले निरन्तर लगानी प्रर्वद्धनका लागि पहल गर्दै आए पनि यस्तो हिंसात्मक प्रवृत्तिले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नकारात्मक सन्देश जाने बताएका छन्।

उनले थपे, “नेपालको अर्थतन्त्रमा ८१ प्रतिशत र रोजगारीमा ८६ प्रतिशतभन्दा बढी योगदान दिने निजी क्षेत्रको संरक्षण र सुरक्षाको प्रत्याभूति सरकारको पहिलो दायित्व हो।” ढकालका अनुसार यस्ता घटनाले राजस्वमा समेत ठूलो क्षति पुर्‍याउने अवस्था सिर्जना भएको छ।

अध्यक्ष ढकालसँगै महासंघका उपाध्यक्षहरू हेमराज ढकाल र ज्योत्सना श्रेष्ठ, कोषाध्यक्ष भरतराज आचार्य, तथा केन्द्रीय सदस्यहरू सैलेन्द्र गुरागाईं, डा. रासरण थपलिया, पशुपतिदेव पाण्डे र कमला श्रेष्ठ लगायतको टोलीले क्षतिग्रस्त संरचनाहरूको स्थलगत निरीक्षण गरेका थिए।

यसअघि महासंघले अर्थमन्त्री र गृहमन्त्रीसँग भेट गर्दै आन्दोलनको क्रममा निजी क्षेत्रमाथि भएको आक्रमण, तोडफोड र आगजनीमा संलग्नलाई कानूनी दायरामा ल्याउन आग्रह गरिसकेको छ। साथै, महासंघले निजी सम्पत्तिको संरक्षण, सुरक्षाको प्रत्याभूति र लगानीमैत्री वातावरण सुनिश्चित गर्न सरकारसहित सम्पूर्ण सरोकारवाला पक्षहरूलाई कडा रूपमा सचेत गराउँदै आएको जनाएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।