नेपालमा जेन-जी आन्दोलन र अबको बाटो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

देश परिवर्तनको सपना बोकेका युवाहरूले हातमा कलम उठाएका छन्, उनीहरूले भ्रष्टाचारको अन्त्य गर्दै नयाँ इतिहास कोर्ने प्रयास गरिरहेका छन्। वि.सं. २०८२ साल भाद्र २३ र २४ गते भएको आन्दोलनले नेपालभर तहस-नहस भएको दृश्य हामीले देख्यौँ। गणतन्त्र आएको १८ वर्ष नपुग्दै देश चरम संकटमा पुग्नु भनेको आम नेपालीको अपेक्षाको घात हो। नेपाल आमाको मन रुवाउने घटनाहरू यिनै दिनहरूमा भएका थिए।

जेन-जी अर्थात् अहिलेको पुस्ता एकातिर देशको भविष्य हुन् भने अर्कोतर्फ उनीहरूले देखेको गणतन्त्र भ्रष्टाचार, अन्याय र विभेदको प्रतीक बनेको महसुस गरे। नेताहरूले जनताका लागि भन्दा पनि आफ्ना परिवार र नातागोता मात्रको हितमा काम गर्दा देशको अवस्था दिनप्रतिदिन झनै खराब हुँदै गयो। नेताका छोराछोरीले बोक्ने लाखौँको झोलाबाट यो कुराको प्रमाणित हुन्छ। त्यही पैसा देशको दुर्गम क्षेत्रमा लगानी गरिएको भए आजको अवस्था आउँदैनथियो होला।

यी सबै कुराहरूले गर्दा युवाहरू आन्दोलनमा उत्रिन बाध्य भए। उनीहरूको आन्दोलन शान्तिपूर्ण थियो तर तिनै आन्दोलनकारीमाथि गोली चलाइयो, जसले निर्दोष विद्यार्थीहरूको ज्यान लियो। कोही आमाको कोख रित्यायो भने कोही बुबाको भरपर्दो सपना समाप्त भयो। पहिलो दिनमै ११ जनाको मृत्यु भएपछि दोस्रो दिनको आन्दोलन झनै उग्र भयो। त्यस क्रममा केही आक्रोशित युवाहरूले सार्वजनिक र निजी सम्पत्तिमा आगजनी र तोडफोड गरे। सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत जस्ता राष्ट्रिय सानका संरचनाहरू क्षणभरमै खरानी भए।

यो आन्दोलनले भ्रष्टाचारको विरुद्ध आवाज उठाएको भए तापनि केही हदसम्म युवाहरूले विवेक गुमाए। भाटभटेनीमा आगो लगाउँदा त्यहाँ कार्यरत हजारौं व्यक्तिको जीवन प्रभावित भयो। अख्तियार दुरुपयोग अनुसन्धान आयोग जलाइएपछि के भ्रष्टाचार अन्त्य भयो त? अहिलेको अवस्थामा देश फेरि उठ्न गाह्रो देखिन्छ। सिंहदरबारको अवशेष देखाएर अबका पुस्तालाई हामी के शिक्षा दिने?

युवाहरूले विदेशी सम्बन्ध, कूटनीतिक सन्तुलन जस्ता विषयहरू बुझेर विवेकपूर्ण कदम चाल्न सक्नुपर्छ। अहिलेको आक्रोशले भविष्यलाई झन् अन्धकारतर्फ धकेल्ने खतरा छ। जनतालाई अहिले “कसरी बाँच्ने?”, “के खाएर जीवन धान्ने?” भन्ने गम्भीर चिन्ता छ।

यही कारणले अहिलेको पुस्ताले हिम्मत हार्नु हुँदैन। पुराना गल्तीहरू सच्याउँदै देशलाई सबल र समृद्ध बनाउने दिशामा अगाडि बढ्नुपर्छ। शिक्षा, स्वास्थ्य, रोजगारी र विकासमा जोड दिँदै सबै नेपालीले एकता प्रदर्शन गर्न आवश्यक छ। सामाजिक, राजनीतिक र आर्थिक हिसाबले सम्भावनाको नयाँ ढोका खोल्न अबको पुस्ताले सकारात्मक सोच र विवेकपूर्ण कदम चाल्नैपर्छ।

“एकताको आवाज गुँजाऔँ,
समृद्ध नेपालको सपना सजाऔँ।”

– एन्जेला घिमिरे
कक्षा – ९
पृथ्वी माध्यमिक विद्यालय
विदुर – ४, नुवाकोट

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।