काठमाडौं । चालु आर्थिक वर्षको साउन महिनामा बैंक तथा वित्तीय संस्थाहरूले ९ अर्ब ३७ करोड रुपैयाँ नाफा आर्जन गरेका छन्। नेपाल राष्ट्र बैंकको वित्तीय संस्था नियमन विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०८१/८२ मा बैंकहरूले ७८ अर्ब ८० करोड नाफा कमाएका थिए भने २०८१ साउन महिनामात्रै १० अर्ब १६ करोड रुपैयाँ नाफा आर्जन गरेका थिए। तर यस वर्ष साउनमा नाफा घटेको छ।
बैंकहरूको ब्याज आम्दानी घट्नु, सञ्चालन खर्च बढ्नु र तरलता अधिकताले निक्षेप तथा कर्जामा बढेको प्रतिस्पर्धाका कारण स्प्रेड दर घट्नुले नाफामा कमी आएको हो। राष्ट्र बैंकले तरलता प्रशेचन गरिरहे पनि निक्षेपको लागतभन्दा कम दरमा प्रशोचन भएकाले ब्याज आम्दानीमा कमी आएको छ। त्यस्तै, गत असार मसान्तको तुलनामा साउन महिनामा बैंकहरूको निक्षेप ६३ अर्ब रुपैयाँले घट्दा कर्जा पनि १८ अर्बले घटेको तथ्यांक छ।
राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरूले ८ अर्ब ३८ करोड, विकास बैंकहरूले करिब ८२ करोड र फाइनान्स कम्पनीहरूले करिब १८ करोड रुपैयाँ नाफा कमाएका छन्। साउन मसान्तसम्म गैरबैंकिङ सम्पत्ति पनि बढेर ५० अर्ब ५६ करोड पुगेको छ।
व्यक्तिगत बैंकहरूको नाफा हेर्दा ग्लोबल आईएमई बैंकले सबैभन्दा बढी ७८ करोड ४५ लाख नाफा कमाएको छ। त्यसपछि नबिल बैंकले ७१ करोड ६४ लाख, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ६३ करोड ४२ लाख, राष्ट्रिय वाणिज्य बैंकले ५५ करोड ८३ लाख, नेपाल बैंकले ५५ करोड २७ लाख, प्राइम बैंकले ५० करोड ५० लाख, कुमारी बैंकले ४९ करोड २४ लाख, एभरेष्ट बैंकले ४८ करोड ३९ लाख र एनएमबि बैंकले ४६ करोड ६८ लाख नाफा आर्जन गरेका छन्।
त्यसैगरी हिमालयन बैंकले ४० करोड ८९ लाख, सिद्धार्थ बैंकले ४० करोड १४ लाख, लक्ष्मी–सनराइज बैंकले ३९ करोड ४५ लाख, सानिमा बैंकले ३९ करोड ३ लाख, एनआईसी एशिया बैंकले ३१ करोड ९४ लाख, प्रभु बैंकले ३० करोड २३ लाख, सिटिजन्स बैंकले २७ करोड २५ लाख, स्ट्यान्डर्ड चार्टर्डले २७ करोड १६ लाख, माछापुच्छ्रे बैंकले २६ करोड ५२ लाख, नेपाल एसबिआईले १५ करोड ८९ लाख र कृषि विकास बैंकले ३८ लाख रुपैयाँ नाफा कमाएका छन्।
Comment