नौ हजार कैदी अझै फरार,त्रासमा समाज

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गत भदौ २३ र २४ गते जेन–जी आन्दोलन हिंसात्मक बनेपछि देशभरका कारागारहरू अस्तव्यस्त बनेका छन्। कारागार तोडफोडमार्फत् कुल १४ हजार ५४९ कैदीबन्दी फरार भएका मध्ये हालसम्म मात्र ४ हजार ७७४ जना सम्पर्कमा आएका छन् भने अझै ९ हजार ८०३ जना फरार रहेको कारागार व्यवस्था विभागका निर्देशक चोमेन्द्र न्यौपानेले जानकारी दिएका छन्।

नक्खु कारागारबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई कार्यकर्ताले निकाल्ने क्रममा परिस्थिति नियन्त्रणबाहिर गएपछि अन्य कारागारमा समेत खतरनाक अपराधीहरू भाग्ने अवस्था आएको थियो। लामिछानेलाई मुक्त गर्ने आन्दोलनकै परिणामस्वरूप सुन्धारास्थित केन्द्रीय कारागारलगायत विभिन्न जेलमा कैदीहरू उम्किएका थिए। नक्खुबाट मात्र १४ सय र सुन्धाराबाट ३३ सय कैदी फरार भएका छन्। नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी पनि सुन्धाराबाटै भागेका छन्, तर उनी अझै पक्राउ परेका छैनन्।

फरार कैदीहरूले हाल गृह प्रशासन र न्यायपालिकामाथि दबाब सिर्जना गर्दै धम्की दिन थालेको सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लले बताएकी छन्। उनका अनुसार न्यायाधीशहरूलाई फोनमार्फत धम्की आइरहेको छ। यसैबीच, भारत भाग्न खोज्ने केही कैदीलाई भारतीय प्रहरीले पक्राउ गरी नेपाल पठाइसकेको छ भने सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले पनि थुप्रैलाई नियन्त्रणमा लिएका छन्। कतिपय आफैं कारागार फर्किएका छन्।

तर अझै पनि आपराधिक मानसिकता भएका हजारौं फरार कैदी समाजमा हिंडिरहेका कारण सर्वसाधारण त्रासमा परेका छन्। कतिपय स्थानमा चोरी, लुटपाट र आपराधिक गतिविधि बढेको भन्दै नागरिकले चासो व्यक्त गरेका छन्। पीडितले उजुरी गरेको घटनामा संलग्न अपराधीहरूले बदला लिने सम्भावनाबारे पनि चिन्ता बढेको छ।

यसबीच, लामिछाने पुनः कारागार फर्किए पनि उनको मुक्तिलाई लिएर उठेको विवादले सरकार, सुरक्षा निकाय र न्यायपालिकामाथि नै ठूलो प्रश्न खडा गरेको छ। अहिलेको चुनौती भनेकै फरार कैदीलाई छिट्टै नियन्त्रणमा ल्याएर समाजमा शान्ति र सुरक्षाको भरोसा कायम गर्नु हो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।