काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रही बागमती र लुम्बिनी प्रदेशसहित पहाडी भूभागका केही स्थानमा मध्यम वर्षा र कोसी, बागमती, कर्णालीका पहाड तथा लुम्बिनीको तराईमा एक-दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ।
राति कोसी, मधेस, बागमती र गण्डकी प्रदेशका पहाड भेगमा साधारण बदली रहने र अन्य स्थानमा आंशिक बदली हुने पूर्वानुमान गरिएको छ। यस अवधिमा मधेस प्रदेशसहित कोसी र बागमतीका पहाडका केही स्थानमा मध्यम वर्षा र एक-दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेकाले अरब सागर र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभाव देखिएको हो।
मौसमविद्हरूका अनुसार १०–५० मिलिमिटर वर्षालाई मध्यम, ५०–१०० मिलिमिटरलाई भारी, १००–२०० मिलिमिटरलाई धेरै भारी र २०० मिलिमिटरभन्दा माथि वर्षालाई अति भारी वर्षा भनिन्छ। यस्तै एक-दुई स्थान, थोरै, केही, धेरै र अधिकांश स्थानमा वर्षा भन्ने शब्दावली क्रमशः १० प्रतिशतदेखि ८० प्रतिशतभन्दा बढी क्षेत्रफललाई जनाउने गरी प्रयोग गरिएको छ।
Comment