काठमाडौं । फिल्म ‘जारी २ : सङ अफ च्याब्रुङ’ को नयाँ प्रदर्शन मिति घोषणा गरिएको छ। जेन–जी पुस्ताको आन्दोलनका कारण स्थगित भएको यो फिल्म अब आगामी कार्तिक ६ गते भाइटिकाको दिनदेखि प्रदर्शनमा आउने भएको छ।
यसअघि असोज ३ गते संविधान दिवसमा रिलिज गर्ने तयारी भए पनि प्रचार–प्रसारको लागि पर्याप्त समय नपाएको भन्दै निर्माण टिमले रिलिज स्थगित गरेको थियो। मंगलबार दुईवटा नयाँ पोस्टर सार्वजनिक गर्दै फिल्मको नयाँ मिति तोकिएको हो।
कवि उपेन्द्र सुब्बाको लेखन तथा निर्देशनमा बनेको यस फिल्मको पहिलो पोस्टरमा दयाहाङ राई र मिरुना मगरलाई परम्परागत लिम्बू पहिरनमा प्रस्तुत गरिएको छ भने दोस्रो पोस्टरमा उनीहरूसँगै बुद्धि तामाङ र विजय बराललाई देखाइएको छ। पोस्टरमार्फत फिल्म लिम्बू समुदाय र उनीहरूको संस्कृति केन्द्रीय पृष्ठभूमि हुने अनुमान गरिएको छ।
बाँसुरी फिल्मस् र कबड्डी फिल्मस् को ब्यानरमा निर्माण भएको फिल्मका निर्माता रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङ हुन्। फिल्ममा दयाहाङ, मिरुना, विजय, बुद्धि बाहेक ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, विष्णु मोक्तान, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बू, बेदना राई र सिर्जना निङ्लेखुको अभिनय रहनेछ।
कवि सुब्बाले निर्देशन गरेको पहिलो फिल्म ‘जारी’ २०८० सालमा ब्लकबस्टर बनेको थियो। सो वर्ष नेपाली बक्स अफिसमा फिल्मले १७ करोडभन्दा बढी व्यापार गरेको थियो। त्यसैले ‘जारी २’ लाई पनि नेपाली दर्शकमाझ अत्यधिक प्रतिक्षित फिल्मको रूपमा हेरिएको छ।
Comment