काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा सरकारको चालु खाता रु. ७८ अर्ब १४ करोडले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु. ३३ अर्ब ८ करोडले बचतमा थियो।
नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदनमा यस्तो तथ्याङ्क समावेश गरिएको हो।
प्रतिवेदनअनुसार, अमेरिकी डलरमा हेर्दा अघिल्लो वर्षको सोही अवधिमा २५ करोडले बचतमा रहेको चालु खाता यस वर्षको समीक्षा अवधिमा ५६ करोड डलरले बचतमा पुगेको छ।
समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर रु. १ अर्ब ४ करोड भएको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा रु. २२ करोड मात्र थियो। यसैगरी, समीक्षा अवधिमा रु. ६९ करोड प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भित्रिएको छ। अघिल्लो वर्ष यस अवधिमा यो रकम रु. ८० करोड थियो।
त्यस्तै, समीक्षा अवधिमा शोधनान्तर स्थिति रु. ८९ अर्ब ३० करोडले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु. ४० अर्ब ९० करोडले मात्र बचतमा थियो। अमेरिकी डलरमा यो स्थिति अघिल्लो वर्ष ३१ करोड थियो भने यस वर्ष ६४ करोड डलरले बचतमा पुगेको छ।
विश्लेषकहरूको भनाइमा, चालु खाता र शोधनान्तर स्थितिमा देखिएको सुधारले देशको बाह्य क्षेत्रमा सन्तुलन कायम गर्न मद्दत गर्ने संकेत गरेको छ।
Comment