काठमाडौं । नयाँ ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले पदभार सम्हाल्दै पहिलो निर्णयका रूपमा डेडिकेटेड फिडर र ट्रंकलाइनमार्फत विद्युत् उपभोग गर्ने उद्योगहरूको बक्यौता उठाउने निर्देशन दिएका छन्।
मन्त्रालयमा जिम्मेवारी सम्हाल्ने क्रममा मन्त्री घिसिङले यसबारे तत्काल कदम चाल्न सम्बद्ध निकायलाई निर्देशन दिएका हुन्।
घिसिङ यसअघि नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हुँदा पनि उद्योगहरूले तिर्न बाँकी राखेको बक्यौता असुल गर्न कठोर कदम चालेका थिए। यही कारण तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले उनलाई पदबाट हटाएको थियो।
यस पटक सोही मन्त्रालयको नेतृत्व पाउनासाथ उनले पहिलो निर्णय नै बक्यौता उठाउनेतर्फ केन्द्रित गरेका छन्।
ऊर्जा मन्त्रालयसँगै मन्त्री घिसिङलाई भौतिक योजना तथा यातायात र सहरी विकास मन्त्रालयको पनि जिम्मेवारी दिइएको छ।
Comment