नेपाली नै भएर यो काम गरेको हो भने लज्जित हुनुपर्ने हो : प्रधानमन्त्री कार्की

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नव नियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पदबहालीको पहिलो दिन नै उच्च पदस्थ कर्मचारीलाई स्पष्ट निर्देशन दिएकी छन्। सिंहदरबारमा आज पदबहालीपछि उनले आफू पदको रसास्वादन गर्न नभई सृजनशील युवापुस्ताको सोचअनुसार भ्रष्टाचार अन्त्य, सुशासन र आर्थिक समानता कायम गर्ने अठोटका साथ आएको बताइन्। उनले छ महिनाभित्र निर्वाचन सम्पन्न गरी नयाँ संसदलाई जिम्मेवारी दिने आफ्नो प्राथमिक उद्देश्य रहेको प्रष्ट पारिन्।

कार्कीले हालको राजनीतिक परिस्थिति गम्भीर रहेको बताउँदै ठूलो जनधनको क्षति, मुख्य निकायका प्रमाण तथा अभिलेख नष्ट हुनु, सुरक्षासम्बन्धी सवारीसाधन जल्नु, अत्यावश्यक निकायमा आक्रमण हुनुजस्ता घटनाले मुलुकलाई शून्यमा पु¥याएको उल्लेख गरिन्। ‘यो नेपालमै पहिलो पटक भएको घटना हो, अनुसन्धान गरेर दोषीलाई कारबाहीमा ल्याउनुपर्छ,’ उनले जोड दिइन्।

प्रधानमन्त्रीले क्षतिपूर्ति र पुनर्निर्माणका काम उपलब्ध स्रोतसाधनमै निर्भर रहनुपर्ने भन्दै यो नृशंस घटनाको सामना एकताबद्ध भएर गर्नुपर्नेमा जोड दिइन्। ‘म हिजो महाराजगञ्ज पुगेँ, त्यहाँका व्यवसायीहरूले जलेको प्रहरीवृत्त पुनर्निर्माण गर्ने जिम्मा लिने बताएका छन्, हामी सबैले यसरी नै हातेमालो गर्नुपर्छ,’ उनले भनिन्।

मुख्यसचिव एकनारायण अर्यालले समेत सरकारी संरचना र सेवा प्रवाह निरन्तरता दिन चुनौती रहेको औंल्याउँदै क्षति पुगेका भवन र कार्यालयलाई प्राथमिकताका आधारमा पुनर्निर्माण गर्न बजेटको व्यवस्था गर्नुपर्ने आवश्यकता उल्लेख गरे।

जेन–जी समूहको आन्दोलनपश्चात् उत्पन्न परिस्थितिमा भदौ २७ गते अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त भएकी कार्कीले आज गृह मन्त्रालयको नयाँ भवनमा पदबहाली गर्दै भ्रष्टाचारविरुद्ध शून्य सहिष्णुतासहित मुलुकलाई स्थायित्वतर्फ अघि बढाउने प्रतिबद्धता व्यक्त गरेकी हुन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।