काठमाडौं । जेन-जी आन्दोलन चर्किएसँगै मृत्यु हुनेको संख्या ५१ पुगेको छ। नेपाल प्रहरीका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापाले भदौ २३ र २४ गते भएका प्रदर्शनका क्रममा ३ जना प्रहरी, १ भारतीय नागरिक र बाँकी नेपाली युवासहित ५१ जनाले ज्यान गुमाएको जानकारी दिएका छन्।
प्रदर्शनको पहिलो दिन १९ जनाको मृत्यु भएको थियो भने पछि उपचारका क्रममा घाइतेहरूको मृत्यु हुँदा मृतक संख्या थपिएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म आन्दोलनमा घाइते भएका २९९ जनाको उपचार देशभरका ३३ अस्पतालमा भइरहेको छ। सबैभन्दा बढी झापाको बीएनसी अस्पतालमा ५३ जना उपचाररत छन्। काठमाडौंमा मात्र विभिन्न अस्पतालमा सयौँ घाइते उपचाररत छन्। निजामती कर्मचारी (सिभिल) अस्पतालमा २३, ट्रमा सेन्टरमा ३२, सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेज (केएमसी) मा ३५, त्रिवि शिक्षण अस्पतालमा २५ र नेपाल पुलिस अस्पतालमा २८ जनाको उपचार जारी रहेको मन्त्रालयले जनाएको छ।
यस्तै, उपचारपछि १ हजार ४६५ जना घाइते डिस्चार्ज भइसकेको मन्त्रालयले जनाएको छ। आन्दोलनका कारण मृतक र घाइतेको संख्या बढ्दै गएपछि सरकार र आन्दोलनकारीबीच संवादमार्फत समाधान खोज्नुपर्ने आवाज अझ प्रबल बन्दै गएको छ।
Comment