अन्तरिम सरकारबारे छलफल स्थगित, अब दिउँसो २ बजे बैठक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अन्तरिम सरकार गठनका विषयमा छलफल गर्न राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहान ९ बजेका लागि बोलाएको बैठक समय परिवर्तन गर्दै दिउँसो २ बजेका लागि सारिएको छ। राष्ट्रपति कार्यालय स्रोतका अनुसार आन्तरिक तयारी नपुगेकाले बैठक सारिएको हो।

जेनजी आन्दोलनले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको नेतृत्वका लागि अगाडि सारेसँगै नेपालमा पहिलो पटक महिला सरकार प्रमुख पाउने सम्भावना बलियो बनेको छ। तर संसद् विघटन गर्ने कि नगर्ने भन्ने विषयमा सहमति जुट्न नसक्दा बिहीबार राति अबेरसम्म शितल निवासमा बसेको बैठक निष्कर्षविहीन भएको थियो।

जेनजी पक्ष संसद् विघटनलाई अनिवार्य ठानिरहेको छ भने परम्परागत दलहरू र राष्ट्रपति पौडेल भने संसदबाटै राजनीतिक निकास खोज्नुपर्ने पक्षमा अडिग देखिएका छन्।

यसअघि बुधबार नेपाली सेनाको जंगीअड्डामा भएको भेटमा जेनजी प्रतिनिधिले कार्कीलाई अन्तरिम सरकार प्रमुखका रूपमा प्रस्ताव गरेका थिए। सो प्रस्ताव प्रधानसेनापति अशोकराज सिग्देलमार्फत राष्ट्रपति पौडेलसम्म पुगेपछि राष्ट्रपतिले दलका नेताहरूसँग परामर्श सुरु गरेका हुन्।

राष्ट्रपति कार्यालयका अनुसार छलफल शुक्रबार बिहान पुनः बस्ने सहमति भए पनि अन्ततः आज दिउँसो २ बजे बैठक बस्ने भएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।