काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सोबिता गौतमले संसद् विघटन गर्न नपाइने बताएकी छिन्।
बिहीबार राति जारी गरेको भिडिओ सन्देशमा सांसद गौतमले जेनजीसहितको संलग्नतामा अन्तरिम नागरिक सरकार गठन गर्न सकिने भए पनि संसद् विघटनको काम सह्य नहुने बताएकी हुन ।
‘जनताको सर्वोच्चता कायम राख्ने भनेको नेपालको संसद्ले हो । यो विघटन गर्न पाइँदैन । यो विघटन गर्नु भनेको नेपालको जनताको सर्वोच्चता संकटमा पर्नु हो,’ उनले भिडियोमा भनेकी छन्।
यसअघि काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले भने संसद विघटन गरेर अन्तरिम सरकार बनाउनुपर्ने बताएका थिए।
आफू निर्वाचित सांसद भएकाले बोल्नैपर्ने देखेर बिहीबार साँझ आफ्ना कुरा राखेको गौतमले बताएकी छिन् ।
‘कुनै पनि स्वार्थप्रेरित निर्णय गर्न पाइँदैन । जेनजीसहितको संलग्नतामा अन्तरिम नागरिक सरकार गठन गर्न पाइन्छ । तर, संसदलाई कायम चाहिँ राख्नुपर्छ,’ उनले भनेकी छिन्, ‘अन्तरिम सरकारले चुनाव घोषणा गर्यो भने अहिले जेनजीहरू जसरी सक्रिय हुनुभएको छ, चुनावबाट तपाईंहरूले चाहेको मान्छे ल्याउन सकिन्छ ।’
Comment